काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति छिमेकी मुलुक भारतको सदभाव रहेको बताएका छन् । स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन ।
उनका अनुसार विशेषगरी भारतसँग हवाई रुटका सम्बन्धमा विस्तृत कुराकानी भएको छ । भैरहवाको लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्ाष्ट्रिय विमानस्थल सञ्चालनका लागि ‘एयरस्पेस’ का सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको छ ।
“गौतमबुद्ध विमानस्थलमा उडान गर्दा भारतको भूमि प्रयोग भएर उडान गर्नुपर्ने भएकाले एयरस्पेसको सम्बन्धमा कुराकानी भएको छ, यो लगायत अन्य विषयमा पनि राम्रो छलफल भएको र नेपालका निम्ति भारतको राम्रो सद्भाव देखिएको छ । भारतमा समेत युरिया मल अभाव रहेका बेला पनि नेपाललाई भारतले मल दिएर सहयोग गरेकोप्रति धन्यवाद दिएको छु”, प्रधानमन्त्री देउवाले भने ।
गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ । यो विमानस्थलमा एक महिनाभित्र क्लालिब्रेसन फ्लाइट गरेर त्यसको तीन महिनाभित्रै परीक्षण उडान हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री देउवाले बेलायतका रक्षामन्त्रीसँगको छलफलको क्रममा नेपालप्रति धेरै ठूलो सद्भाव रहेको पाएको र गोरखा फौजको सङ्ख्या बढाउन सकारात्मक रहेको प्रक्रिया दिएको जानकारी दिए । “जुन बेलादेखिको गोरखाहरुको तलब बढेको छ, त्यही बेलादेखिको पेन्सन बढ्नुपर्छ भनेर कुराकानी भएको छ । बेलायतका प्रधानमन्त्रीसँगको छलफलमा पनि गोर्खाजको विषयमा सकारात्मक कुराकानी भएको छ”, उनले भने ।
सम्मेलनकै क्रममा अंेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि नेपालको सम्बन्धका बारेमा संक्षिप्त कुराकानी भएको जानकारी प्रधानमन्त्री देउवाले दिए । उता सम्मेलनलाई सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे जोडदारका साथ कुरा उठाएको बताए ।
कार्बन ग्यास घटाउने, अक्सिजन बचाउने र कार्बन उत्सर्जन घटाउनेबारे कुरा उठाएको उनले बताए । जलवायु परिवर्तनको जोखिमको बढी असर नेपालमा परेको र बाढी, पहिरोजन्य विपद्का घटना बढेकोप्रति ध्यानकर्षण गराउँदा अन्य मुलुकले चासो लिएको प्रधानमन्त्री देउवाले जानकारी दिए।