काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
सरकारी निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग सम्बन्ध स्थापना तथा नवीकरणका निम्ति बुधबार साँझ काठमाडौँ आइपुग्नुभएका सहायक विदेशमन्त्री लु र आजै यहाँ आउनुभएकी उपसहायक विदेशमन्त्री किडरलिङबीच नेपाल–अमेरिका सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनाका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री र अमेरिकी कूटनीतिक टोलीबीच सात दशकभन्दा पुरानो नेपाल–अमेरिका सम्बन्धलाई थप प्रगाढ तुल्याउने, कोभिड–१९ महामारीको सन्दर्भमा सहयोगका दायरा अझ विस्तार गर्ने, महामारीपछिको पुनरुत्थान एवं पुनःप्राप्तिलगायत साझा हितका विविध विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले राससलाई जानकारी दिनुभयो ।
वार्तामा नेपालको विकास प्राथमिकताका विभिन्न क्षेत्रका साथै ऊर्जा र भौतिक पूर्वाधारका निम्ति अमेरिकाले अनुदानस्वरुप उपलब्ध गराउने रु ५५ अर्बभन्दा बढीको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसिसी)लगायत संयुक्त राज्य अमेरिकाको सहयोगका बारेमा पनि छलफल भएको थियो । यथाशक्य चाँडो एमसिसीलाई संसद्बाट अनुमोदन गर्न अमेरिकी प्रतिनिधिमण्डलले अनुरोध गरेको थियो । दुवै पक्षले नेपाल–अमेरिका सम्बन्धको समग्र अवस्थाप्रति सन्तोष व्यक्त गरेका छन् । ’
It was a pleasure to receive US Assistant Secretary of State @State_SCA Amb Donald Lu this evening. We exchanged views on matters relating to longstanding Nepal-US friendship, cooperation and various aspects of multidimentional bilateral relations. pic.twitter.com/OcRYsJs6GJ
— Sher Bahadur Deuba (@SherBDeuba) November 18, 2021
“हामीले लामो समयदेखिको नेपाल–अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विषयमा विचार आदानप्रदान गरेका छौं,’ प्रधानमन्त्री देउवाले ट्वीट गरेका छन् ।