काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार एकै दिन छ हजार ७४३ वडामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्दैछ । वडादेखि केन्द्रीय तहसम्म निर्वाचन प्रक्रिया पूरा हुँदा सो पार्टीका तीन लाख कार्यकर्ताले कम्तीमा एुटा पदीय जिम्मेवारी पाउनेछन् भने आठ हजारभन्दा धेरै समिति गठन हुनेछन्।
वडादेखि केन्द्रसम्म सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने योजनाअनुसार बनेको केन्द्रीय निर्वाचन आयोगले ७७ जिल्ला तथा सातवटा प्रदेशमा निर्वाचन समिति बनाएर आफ्नो काम गरिरहेको छ । निर्वाचन समितिमा रहने सदस्यलाई सो आयोगले तालिम तथा प्रशिक्षण यसाघि नै सञ्चालन गरेर देशव्यापी रूपमा खटाएको छ । \
आउदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनको क्रममा शनिबार वडा सम्मेलन हुने भएको हो । पार्टीले केन्द्र बाहेकमा तीन चरणमा सम्मेलन गर्ने निर्णय गरेको छ । जसानुसार वडा सम्मेलनपछि यही मङ्सिर ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन गराउन आयोगले प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समिति बनाएर जिम्मेवारी प्रदान गरेको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ।