काठमाडौं – सूचना तथा प्रसारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा छापा मारेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणका लागि टोली पठाएको पुष्टि गरे ।
विभागका निर्देशकको संयोजकत्वमा बनेको ४ सदस्यीय समितिले टेलिभिजनको उद्घाटन भएको स्थानमै पुगेर वास्तविकताबारे जानकारी लिएको हो । सो टेलिभिजनले अहिलेसम्म प्रसारण विभागमा अनुमतिका लागि प्रक्रियासम्म थालेको छैन । विभागका महानिर्देशक गोगनबहादुर हमालले सञ्चारमाध्यममा अनुमतिविना टेलिभिजन प्रसारण हुन लागेको खबर आएपछि त्यसबारे बुझ्न समिति बनाइएको बताए ।
हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निर्णय लिइने बताए । अनुगमन टोलीले आस्था र पतञ्जली टेलिभिजनको केही महत्त्वपूर्ण कागजातसमेत निणन्त्रणमा लिएको छ ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसमेतको उपस्थितिमा सो टीभीको काठमाडौंस्थित कार्यालयको उद्घाटन गरेका थिए ।