बिबीसी – अन्तर्ाष्ट्रिय ओलिम्पिक कमिटी (आइओसी) ले चिनियाँ टेनिस खेलाडी पेङ्ग स्वाअेले आइतवार एउटा भिडिओ कलमार्फत आफू सुरक्षित रहेको बताएको जनाएको छ। एउटा विज्ञप्तिमा आइओसीले अध्यक्ष टमस बाखले पेङ्गसँग तीन मिनेट भिडिओ कल गरेको जनाएको छ। “उनी सुरक्षित छिन्, त्यो नै हाम्रो मुख्य चासो थियो,” विज्ञप्तिमा भनिएको छ। आफूविरुद्ध एक वरिष्ठ मन्त्रीले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि ३५ वर्षीय पेङ्ग करिब तीन साताअघिदेखि सार्वजनिक वृत्तबाट टाढा छिन्।
उनको अनुपस्थितिले व्यापक रुपमा चासोहरू उत्पन्न गराएको थियो। अन्तर्ाष्ट्रिय स्तरका चर्चित खेलाडी र सरकारहरूले उनी सुरक्षित छिन् भन्ने प्रमाण उपलब्ध गराउन चीनलाई आह्वान गरेका थिए। “३० मिनेट लामो भिडिओ कलको सुरुमा पेङ्ग स्वाअेले आइओसीको चासोका लागि धन्यवाद दीन्,” उक्त विज्ञप्तिमा उल्लेख छ।
“उनले बेइजिङस्थित आफ्नो घरमा सुरक्षित र ठिक रहेको व्याख्या गरिन्, तर अहिलेको अवस्थामा गोपनीयताको सम्मान होस् भन्ने चाहेको पनि बताइन्,” विज्ञप्तिमा थप भनिएको छ। “उनले अहिलेको आफ्नो समय परिवार र साथीहरूसँग बिताउन चाहेको बताएकी छन्,” विज्ञप्तिमा उल्लेख छ। “जे भए पनि, उनी टेनिसमा निरन्तर रहने छिन्।”
आइओसीको विज्ञप्तिमा भिडिओ कल गर्दै गर्दाको तस्बिर पनि राखिएको छ जसमा उनी क्यामरामा हाँसिरहेको देखिन्छ। टेनिसकी चर्चित खेलाडी सार्वजनिक वृत्तबाट हराएपछि सुरु भएको आर्तनादपछि चिनियाँ सरकारी सञ्चारमाध्यम उनी ठिक छिन् भन्ने देखिने उनको तस्बिर र भिडिओहरू शृङ्खलावद्ध रुपमा देखाउन बाध्य भएको थियो।
आइतवार, सरकारी सञ्चारमाध्यमका पत्रकारले ट्वीटरमा एउटा भिडिओ क्लिप राखेका थिए जसमा पेङ बेइजिङस्थित एउटा टेनिस प्रतियोगितामा अधिकारीहरूसँग हाँसिरहेको देखिन्थ्यो।