काठमाडौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीका लागि आवेदन र भिसा दिने व्यवस्था गर्न नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनसँग आग्रह गर्नुुभएको छ ।
बिहीबार मन्त्री श्रेष्ठ र राजदूत डेनियलाबीच भएको भेटमा सो आग्रह गरिएको हो । नेपालबाट रोमानिया जान चाहनेहरू आवेदन र भिसाका लागि भारत जानुुपर्ने भएकाले अब नेपालमै त्यसको व्यवस्था गर्न उहाँले आग्रह गर्नुभएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
उहाँहरूबीचमा दुई देशबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । श्रममन्त्री श्रेष्ठले रोजगारीका लागि नेपालबाट रोमानिया जाने नेपालीको सङ्ख्या बढिरहेको चर्चा गर्नुहुँदै रोमानियामा उपलब्ध रोजगारीप्रति नेपालीको चासो बढेको बताउनुभयो ।
नेपालले द्विपक्षीय श्रम सम्झौताको मस्यौदा तयार गरी रोमानिया सरकारलाई हस्तान्तरण गरेको स्मरण गर्नुुभयो । पछिल्लो पाँच वर्षमा मात्र श्रम स्वीकृति लिएर रोमानिया जाने नेपालीको सङ्ख्या सात हजार ६१८ जना रहेका छन् । नेपाल र रोमानियाबीच सन् १९६८ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका तर्फबाट जर्मनीको बर्लिन र रोमानियाका तर्फबाट भारतको नयाँदिल्लीमा रहेको दूतावासमार्फत कूटनीतिक सम्बन्ध कार्यान्वयन भैरहेको छ ।