काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय ४ जनाको पीसीआर परीक्षण गर्दा २८१ जना र १ हजार ८ सय ५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी ३०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी, सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१८ पुगेको छ । यसैगरी देशभर हालसम्म सात हजार २८७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ९६ हजार ८५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।