अति सङ्क्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरिअन्टका कारण बेलायतले ६ देशसँगको हवाई उडान निलम्बन गर्यो [भिडिओ]

Breaking News अन्तर्राष्ट्रिय समाचार स्वास्थ्य
शेयर गर्नु होला

लंडन – अति सङ्क्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरिअन्टका कारण यूकेले छ देशसँगको हवाई उडान निलम्बन गरेको छ।

यूकेका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई रातो सूचीमा राखिने र त्यहाँबाट आउने यात्रुले क्वारन्टीनमा बस्नुपर्ने बताएका छन्।

एक विज्ञले B.1.1.529 भनिएको उक्त भेरिअन्टलाई “हामीले अहिलेसम्म देखेको सबैभन्दा खराब” भनेका छन् र यो भेरिअन्टले अहिले खोपका कारण आएको प्रतिरोधी क्षमतालाई तोड्नसक्ने भन्दै चिन्ता व्यक्त भएका छन्।

सो भेरिअन्ट अहिलेसम्म दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी ५९ जनामा मात्रै पुष्टि भएको छ।

यूकेले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडान स्थगित गरेको छ।

जावेदले वैज्ञानिकहरू नयाँ भेरिअन्टका कारण चिन्तित भएको बताउँदै यसबारे थप अध्ययन आवश्यक रहेको बताए।

उनले नयाँ भेरिअन्टमा धेरै उत्परिवर्तन भएको र त्यो सङ्ख्या डेल्टा भेरिअन्टमा भन्दा दोबर हुनसक्ने बताए।

उनले थपे: “र यसले के सङ्केत गर्छ भने यो भेरिअन्ट बढी सङ्क्रामक छ र अहिलेका खोपहरूको यसमाथि कमै असर हुनसक्छ।”

उनले ती छ देशहरूलाई रातो सूचीमा राख्नुको कारण “सावधानी र आफ्नो सीमाको सकेसम्म सुरक्षा गर्नु” रहेको बताएका छन्।

शुक्रवार मध्याह्नदेखि विगत १० दिनभित्र ती देश भ्रमण गरेका विदेशी र आयरल्यान्डका नागरिकहरूलाई इङ्गल्यान्ड प्रवेश निषेध गरिएको छ।

ती देशबाट आउने ब्रिटिश नागरिकहरू आइतवारदेखि होटेलमा क्वारन्टीनमा बस्नुपर्ने र त्यसअघि घरमै एकान्तवासमा बस्नुपर्ने बताइएको छ।

होटेल क्वारन्टीन प्रणाली स्थापित नभएसम्म ती देशसँग निलम्बित उडान नियमित नहुने बनाइएको छ।बीबीसी

Video Source : ITV News


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *