काठमाडौं – नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगेर सोही दिनबाट उपचार सुरु गरिएको थियो।
उपचार सुरु गरेको चौथो दिनमा नै नेता पुनको स्वास्थ्यामा प्रारम्भिक सुधार देखिएको संगै रहेकी नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दीइन। नेता पुनको उपचारमा तीन दर्जन भन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् । पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस बिलरुविनको मात्रा घटेर १८ मा झरेको छ । यस अघि बैंककमा छँदा बिलरुविनको मात्रा २२ थियो । बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने बान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निनेजस्ता समस्यामा सुधार भएको छ ।
उपचारमा सहभागि चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएका नेता पुनको पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए । ‘आज मात्रै मेरो भिडियो कल भएको थियो, उहाँको हिजोदेखि शरीर चिलाएको छैन, खान थालेको, सबैसँग कुरा गर्न थाल्नुभयो अध्यक्ष प्रचण्डसँग पनि हिजो बेलुका भिडियो कल गर्नुभयो, चिकित्सकले खतरामुक्त भएको छिट्टै नेपाल फर्कनुहुन्छ भनेका रहेछन्, चापागाईंले भने, ‘बैंककबाट चीन उड्दा शरीर सुन्निएर ७२ केजी थियो अहिले घटेर ६७ केजीमा झरेको छ ।