काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७२७ नमुना परीक्षण गरिएको थियो ।
दश हजार ९१९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार आठ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा २५९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२९ पुगेको छ ।
यसैगरी देशभर हालसम्म छ हजार ९५४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख २७ हजार ५८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।