जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन धुमधामका साथ फूलबारी लीला मनाइयो

Breaking News धर्म दर्शन समाचार
शेयर गर्नु होला

धनुषा – प्रदेश नं २ को राजधानी जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने रामजानकी विवाहपञ्चमी महोत्सवको आज दोस्रो दिन धुमधामका साथ फूलबारी लीला मनाइएको छ ।

फूलबारी लीलामा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडी बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमफिर गराइन्छ । त्रेतायुगमा भगवान् राम र लक्ष्मण जनकपुरधाम आएपश्चात् फूलबारीमा घुम्न जाँदा साथीसँगीसँग फूल टिप्न आएकी सीतासँग पहिलो पटक भेट भएको थियो । सोही दिनको सम्झानास्वरुप विवाहपञ्चमी महोत्सवको दोस्रो दिन राम, लक्ष्मण र सीताको प्रतीकात्मक रुप धारण गरेका बालबालिकालाई फूलबारीमा घुमाउँदै राम र सीताको भेटघाट गराउने चलन छ । यसैलाई फूलबारी लीला भनिन्छ ।

त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा यहाँ विवाहपञ्चमी महोत्वस मनाउने गरिएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउनुहुन्छ । यस वर्ष सप्ताहव्यापी विवाहपञ्चमी कार्यक्रमअन्तर्गत शुक्रबार जनकपुरधाममा पहिलो दिन नगर दर्शन, आज फूलबारी लीला, आइतबार धनुष यज्ञ, सोमबार तिलकोत्सव, मङ्गलबार मटकोर, बुधबार स्वयंवर तथा विवाह तथा बिहीबार रामकलेवा विधिको कार्यक्रम आयोजना गरी महोत्सव सम्पन्न गरिने छ । विगत दुई वर्षयता कोरोना महामारीका कारण प्रभावित बनेको महोत्सवको यस वर्ष धुमधामका साथ मनाउने तयारी रहेको वैष्णवले बताउनुभयो ।रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *