बिबीसी – युक्रेनमा रुसले आक्रमण गर्नसक्ने त्रासबीच त्यसको ‘कडा प्रतिक्रिया’ जनाउने तयारी गरिराखिएको अमेरिकाले जनाएको छ। अमेरिकी राष्ट्रपति र उनका रुसी समकक्षीबीच भएको भिडिओ वार्तापछि वासिङ्टनले त्यसो भनेको हो।
भिडिओ वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी सैन्य उपस्थिति बढाइेको विषयबारे चिन्ता व्यक्त गरेको र “बलियो आर्थिक तथा अन्य प्रतिक्रिया”को धम्की दिएको वासिङ्टनले जनाएको छ। पछिल्लो समय युक्रेनसँगको सीमा नजिकै रुसले सैन्य उपस्थिति बढाएको छ।तर छलफलका क्रममा रुसले युक्रेनलाई आक्रमण नगर्ने जनाएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीएभमाथि उक्साहटपूर्ण कार्यहरू गरेको आरोप लगाएका छन्। उनले रुसनजिक हतियार तैनाथ नगर्ने र पूर्वतर्फ उत्तर एटलान्टिक सन्धि संगठन नेटोको विस्तार नगरिने विषयमा प्रत्याभूतिको माग गरेका थिए।
रुसी समाचार संस्था टासका अनुसार विगतमा स्थापना गरिए पनि प्रयोग भने नगरिएको एक सुरक्षित भिडिओ लिङ्कमार्फत् बाइडन र पुटिनबीच कुराकानी भएको थियो। छलफलको सुरुवाती समय देखिने भिडिओ फुटेजमा दुई देशका नेताहरूले मित्रतापूर्वक अभिवादन गरेको देखिन्छ।
त्यसपछिको गोप्य छलफल झन्डै दुई घण्टासम्म चलेको बताइेको छ। पुटिन सोचीस्थित आफ्नो निवासबाट छलफलमा सहभागी भएको टासले जनाएको छ। क्रेमलिनले छलफल ”स्पष्ट” रहेको बताउँदै दुई देशले संवेदनशील विषयहरूमा मिलेर कामहरू जारी राख्ने जनाएको छ।