काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा सङ्कट नरहेको बताएका छन । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा आयोजित ‘अर्थतन्त्रमा देखिएका चुनौती र सरकारको योजना’ विषयक छलफल कार्यक्रममा उनले अर्थतन्त्रमा देखिएका चुनौती समाधानको स्तरभित्रै रहेको बताएका हुन ।
अर्थतन्त्र सुधारका लागि सरकारले केही नीतिगत र व्यवस्थापनका काम अगाडि बढाएकाले सङ्कटको स्थिति नाअेको प्रस्ट पार्दै अर्थमन्त्री शर्माले भने , “अर्थतन्त्रमा चुनौती छन् तर सङ्कट आउने भयो भनेर निराश हुने अवस्था छैन । केही क्षेत्रमा चुनौती रहे पनि त्यसलाई समाधान गरेर लैजान सकिन्छ । ” कार्यक्रममा मन्त्री शर्माले आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुने बताए ।
“यस्तो परिस्थितिमा पनि सात प्रतिशतको वृद्धिदर लक्ष्य छ, त्यो लक्ष्यलाई हामी पु-याउन सक्छौँ,” उनले स्पष्ट पारे । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य रहेकामा अहिले ४.२ प्रतिशत कायम रहेको पनि जानकारी दिए । यसको सीमा लक्ष्यभन्दा माथि नजाने पनि उनले विश्वास व्यक्त गरे । अर्थतन्त्रलाई बलियो बनाउन उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने उनको धारणा थियो। सबै क्षेत्रमा आत्मनिर्भर हुन नसके पनि खास क्षेत्र छनोट गरेर आत्मनिर्भर हुनेतर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।
विप्रेषणमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित अर्थतन्त्र बनाउन महाअभियान आवश्यक रहेको पनि उनले बताए । वार्षिक ‘क्रेडिट ग्रोथ’ १९ प्रतिशत भने पनि अहिले ३२ प्रतिशत पुग्नु सकारात्मक कुरा भएको अर्थमन्त्रीले बताए । प्रतिस्थापन विधेयक समयमा पास नहुँदा लीएका नीति, कार्ययोजना, कार्यविधि समयमा बनेर पास नहुँदा सरकारको खर्च कम भएको उनले जानकारी दिए । यद्यपि अहिले प्रक्रिया पूरा भैसकेकाले छिट्टै गति लिने उनले जानकारी दिए । अहिले सरकारको सञ्चिति १३ खर्ब १९ अर्ब रुपियाँ रहेकाले र यसले ७.८ महिनाको वस्तु र सेवा आयातलाई धान्न सक्ने उनले बताए ।
कोभिड महामारीपछि ९८ प्रतिशत उद्योग, कलकारखाना पुनः सञ्चालनमा अैसकेकाले यसले पनि आर्थिक वृद्धिमा सहयोग पुग्ने उनले बताए । अहिले सरकारले राजस्व सङ्कलनमा ४० प्रतिशत वृद्धि गरेकाले पनि ऋण आवश्यक नपरेको उनको दाबी थियो । आर्थिक गतिविधिलाई चलायमान बनाउन पुँजीगत खर्च बढाउने सन्दर्भमा काम भैरहेको र आगामी महिनादेखि यसले रफ्तार लिने उनको विश्वास थियो ।गोरखापत्रबाट