काठमाडौ – निर्वाचन आयोगले अब आउने स्थानीय तहको चुनाव मुलुकभर एकै चरणमा सम्पन्न गर्ने भएको छ । वि.सं. २०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबार भने– “एकभन्दा बढी चरणमा चुनाव गर्दा खर्च, निष्पक्षता र व्यवस्थापनको हिसाबले झन्झटिलो हुने भएकाले एकै पटक गर्ने तयारी गरेका हौँ ।”
यसपटक भने चुनावका लागि सुरक्षाको हिसाबले कुनै समस्या नभएको उनले बताए । एकै प्रकृतिको चुनाव पटक पटक गर्दा लामो समयसम्म आचारसंहिता लगाउनुपर्ने र जनतामा पनि नराम्रो सन्देश जानसक्ने पनि थपलियाले बताए । उनले बताए, “यतिखेर सबैको ध्यान राजनीतिमा मात्रै केन्द्रित छ ।
चुनावका लागि कुनै समस्या छैन । तसर्थ मुलुकभर एकै चरणमा चुनाव गर्न सकिन्छ भन्ने आयोगलाई विश्वास छ ।” प्रदेश सभा सदस्य र प्रतिनिधि सभाको निर्वाचनको अवधि बाँकी नै छ ।गोरखापत्र दैनिकबाट