काठमान्डौ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको निर्वाचनका लागि दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ।
पाँच उम्मेदवारामध्ये देउवा पहिलो स्थानमा रहे पनि निर्वाचित हुन आवश्यक ५० प्रतिशतभन्दा बढी मत कटाउन सकेनन्। मङ्गलवार बिहान ४ बजेबाट सुरु भएको मतगणनाको नतिजा अनुसार पाँच जना उम्मेदवारमध्ये सबैभन्दा धेरै मत प्राप्त गरेका देउवा र कोइराला पुनः चुनावी मैदानमा उत्रिनुपर्ने भएको हो।प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ भने यो दौडबाट बाहिरिएका छन्।
तर शीर्ष दुई स्थानमा रहेका उम्मेदवारबीच अब हुने प्रतिस्पर्धामा बाँकी तीन नेतालाई समर्थन गर्ने मतदाताहरू निर्णायक हुने बुझाइ धेरैको छ। कांग्रेसको विधानानुसार पहिलो चरणबाटै सभापतिको परिणाम आउन सभापतिका उम्मेदवारमध्ये कुनै एक जनाले ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ। सोमवार राति सम्पन्न निर्वाचनमा कूल ४,७ ४३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४,६७९ ले मत खसालेको बताइेको छ।