सिड्नी — अस्ट्रेलियाले बुधबारदेखि विद्यार्थी तथा भिसावाहक विदेशी नागरिकका लागि सीमा खुल्ला गर्ने निर्णय गरेको छ । दुई साताअघि नै सीमा खोल्ने निर्णय गरिएको भए पनि ओमिक्रोन भाइरसको संक्रमण देखिएसँगै अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनलले उक्त निर्णयलाई दुई साताका लागि स्थगित गरेका थिए ।
प्रधानमन्त्री मरिसनका साथै स्वास्थ्यमन्त्री ग्रेग हन्टलगायतले ओमिक्रोन भाइरसका बारेमा थप जानकारी हासिल गर्नका लागि भन्दै डिसेम्बर एक तारिखदेखि खोल्ने भनिएको सीमा डिसेम्बर १५ सम्मका लागि सारेका थिए । उक्त निर्णयका कारण टिकट लिएर बसेका हजारौं नेपाली विद्यार्थीसमेत प्रत्यक्ष प्रभावित बनेका थिए ।
सोमबार प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले डिसेम्बर १५ बुधबारदेखि अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णयलाई निरन्तरता दिने बताएका हुन् ।
अस्ट्रेलियाको केन्द्रीय सरकारले करिब २० महिनादेखि बन्द रहेको आफ्नो अन्तर्राष्ट्रिय सीमा खुला गर्ने निर्णय गरेको भए पनि सबै राज्यहरुमा सहजै प्रवेश भने पाइन्न । यहाँ रहेका ६ राज्य तथा दुई टेरिटोरीका अलग अलग नियम भएका कारण विद्यार्थीलाई उक्त जानकारी लिन अस्ट्रेलियामा रहेका विद्यार्थीका क्षेत्रमा काम गरिरहेका विज्ञको सुझाव छ । अस्ट्रेलियाले आफ्नो नियमन निकाय थ्योरोपेटिक गुड्स एडमिनिस्ट्रसन (टीजीए) बाट स्वीकृत गरिएका पूर्ण खोप लगाएको हुनुपर्नेछ भने ३ दिनअघि पीसीआर टेस्ट नेगेटिभ आएको हुनुपर्नेछ ।
अस्ट्रेलियाली सरकारको आधिकारिक जानकारी अनुसार तत्कालका लागि न्यु साउथ वेल्स, भिक्टोरिया र राजधानी रहेको क्यापिटल टेरिटोरीमा आउने विदेशी नागरिकले जम्मा ३ दिन सेल्फ आइसोलेसन वा क्वारेन्टाइनमा बस्नुपर्नेछ भने अन्य अधिकांश राज्यले १४ दिनको क्वारेन्टाइन तोकेका छन् । यी तीन राज्य बाहेकका अन्य राज्यले पूर्ण खोप लगाइसकेको भए पनि विदेशी नागरिकलाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम लगाएका छन् ।
यद्यपि १४ दिनको क्वारेन्टाइन बस्न र सरकारले तोकेको शुल्क तिर्न सक्ने अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका योग्य भिसावाहक नागरिकलाई अन्य राज्यले समेत प्रवेश अनुमति भने दिनेछ । विभिन्न राज्यले १४ दिनका लागि कम्तीमा ३ हजार अस्ट्रेलियन डलर क्वारेन्टाइन शुल्क तोकेका छन् । अस्ट्रेलिया आउने विदेशी नागरिकले क्वारेन्टाइन वा आइसोलेसन बसेको समयमा समेत निश्चित दिनमा कोरोना जाँच गर्नुपर्ने प्रावधान राखिएको छ भने हरेक राज्यले प्रवेश अघि फारम भर्नुपर्ने नियमसमेत राखेका छन् ।सभार : कान्तिपुर
Video Source : SKY News Australia