आरोप प्रमाणित गर्न ओलिलाई अध्यक्ष दाहालको चुनौती

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति भएको भनी नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले लगाउनुभएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन ।

उनले भनेका छन, “म केपी ओलीलाई पाँचबुँदे सहमति प्रमाणित गर्न चुनौती दिन्छु ।” अध्यक्ष प्रचण्डले आज विज्ञप्ति प्रकाशन गरी अध्यक्ष ओलीले गरेको प्रचार गलत रहेको भन्दै खण्डन गरेका हुन । साथै अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा एमाले अध्यक्ष ओलीलाई माक्र्सवाद र कम्युनिस्ट सिद्धान्तबाट धेरै पर पुगेको भनी आरोप पनि लगाएका छन ।

एमाले अध्यक्ष ओलीले बुधबार एक कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको बताएका थिए । अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा अध्यक्ष ओलीको सो प्रचार झूठो हो भन्दै त्यसबाट भ्रमित नहुनसमेत सबैसँग अनुरोध गरेका छन । अध्यक्ष प्रचण्डले आफूले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणी भन्दै आजको पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको पनि सो विज्ञप्तिमार्फत दाबी गरेका छन ।

लगानीकर्ताको पक्षमा छौँ

अध्यक्ष प्रचण्डले नेपालको शेयर बजारका सन्दर्भमा आफू स्पष्ट रहेको र लगानीकर्ताको हितमा रहेकोसमेत उल्लेख गरेका छन । उनले भनेका छन, “नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौँ लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु ।” उनले झूठो प्रचारबाट भ्रमित नहुन सम्पूर्ण शेयर लगानीकर्ता जनसमुदायलाई अनुरोध पनि गरेका छन।रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *