काठमान्डौ – भारतमा मदर टेरेसाले स्थापना गरेको परोपकारी संस्थाले विदेशबाट आर्थिक सहयोग लिन पाउने अनुमति नवीकरण गर्न भारत सरकारले अस्वीकार गरिदिएको छ।
टेरेसाले मानवसेवाका लागि नोबेल पुरस्कार पाएकी थीन्। भारतमा मिशनरीज अप च्यारिटीसँग हजारौँ इसाई ननहरू आबद्ध छन्। उनीहरू टुहुरा बालबालिकाका लागि सञ्चालित आश्रयस्थल, विद्यालय, क्लिनिक र हस्पिसको रेखदेखमा खट्छन्। भारतको गृह मन्त्रालयले “केही प्रतिकूल निवेशबारे पत्ता लागेकाले” मिशनरीज अफ च्यारिटीको दर्ता नवीकरण अस्वीकार गरिएको जनाएको छ।
चरमपन्थी हिन्दूहरूले उक्त संस्थाले आफ्ना कार्यक्रमहरूको आडमा धर्मप्रचार गर्न तथा मानिसहरूलाई धर्म परिवर्तन गराएर इसाई बनाउन खोजेको आरोप लगाउने गरेका छन्।
तर मिशनरीज अफ च्यारिटीले त्यस्ता आरोपको खण्डन गरेको छ। सोमवार एउटा विज्ञप्ति प्रकाशित गर्दै उसले संस्था नवीकरणको आफ्नो आवदेन अस्वीकृत भएको पुष्टि गरेको छ। यो विषय टुङ्गोमा नपुगुन्जेलसम्म आफूले कुनै विदेशी खाता नचलाउने उसको भनाइ छ।
यसाघि पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले सरकारले च्यारिटीका ब्याङ्क खाताहरू रोक्का गरिदिएको भन्दै ट्वीट लेखेपछि उनको आलोचना भएको थियो। तर सङ्घीय सरकारले ब्याङ्क खाताहरू रोकिएको आरोपको खण्डन गरेको छ।
ममता बनर्जीले च्यारिटीलाई रोक लगाउँदा २२,००० बिरामी तथा कर्मचारीले खाना तथा औषधि नपाउने टिप्पणी गरेकी थीन्। कानुन सर्वोपरि भए पनि मानवीय प्रयासमा कुनै प्रभाव पर्नु नहुने उनको धारणा थियो। ‘द हिन्दू’ पत्रिकालाई उद्धृत गर्दै बीबीसी हिन्दीले मिशनरी अफ च्यारिटीले ३४७ विदेशीबाट व्यक्तिगत र ५९ वटा संस्थाबाट ७५ करोड भारतीय रुपैयाँ दान लिएको जनाएको छ।
उक्त संस्थाको खातामा गत वर्ष विदेशबाट प्राप्त २७।३ करोड रुपैयाँ बाँकी भएको र अहिले कुल १०३।७६ करोड रुपैयाँ भएको विवरण द हिन्दूले प्रकाशित गरेको छ।बिबीसीबाट