काठमांडौ – नेपालमा कोभिड-१९ विरुद्ध खोप अभियानलाई तीव्र बनाउन मन्त्रीहरू नै देश दौडाहामा जान लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीले बताएका छन्।
मन्त्री विरोध खतिवडा अनुसार दैनिक पाँच लाखलाई खोप लगाउने लक्ष्य पूरा गर्न अनुगमन यात्रा गर्न लागिएको हो।
खतिवडा आफैँ पूर्वी नेपालको भ्रमणमा निस्कँदै छन्। स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ भने प्रदेश स्तरीय भ्रमणमा जान लागेको उनले बताए।
खतिवडाले भने, “कुल जनसङ्ख्याको ५० प्रतिशतले दुवै मात्रा खोप लगाएपछि बुस्टर मात्रा दिन उपयुक्त हुन्छ भनिएको छ। त्यसैले खोप कार्यक्रमलाई तीव्रता दिएका हौँ।”
स्वास्थ्य मन्त्रालयले बुधवारसम्म १८ वर्ष माथिका ५९ प्रतिशतलाई कोभिड खोपको पहिलो मात्रा र ५१ प्रतिशतलाई दुवै मात्रा दिइएको बताएको छ।
स्वास्थ्यमन्त्री खतिवडाले पुस अन्तिम सातासम्म ‘बुस्टर डोज’ दिन थाल्ने योजना रहेको बताए।
यसअघि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ नेपाल कार्यालय प्रमुख डा। राजेश संभाजीराव पाण्डवले बुस्टरको आवश्यकता र असरको बारेमा ‘उपलब्ध वैज्ञानिक तथ्यहरूलाई समीक्षा गरिरहेको’ बताएका थिए।
उनले भनेका थिए,”बुस्टर मात्रा स्पष्ट प्रमाणित आधारहरूमा टेकेर दिइनुपर्छ र त्यो गम्भीर रोग लाग्न सक्ने उच्च जोखिममा रहेका समूह र स्वास्थ्य प्रणालीको सुरक्षाका लागि आवश्यक जनसङ्ख्यामा लक्षित गरिनुपर्छ।”
केही प्रारम्भिक विवरणहरूले कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टविरुद्ध जुध्न तेस्रो मात्रा खोप आवश्यक पर्ने देखाएको छ।
नेपालमा हालसम्म तीन जना मानिसमा ओमिक्रोन भेरिअन्टको सङ्क्रमण पुष्टि भएको छ।
नेपालसँग खुला सीमा रहेको भारतका विभिन्न सहरमा भने यो भेरिअन्टको फैलँदो अवस्थामा रहेको छ। यसकारण नेपालमा पनि सङ्क्रमणको जोखिम उच्च रहने भन्दै निगरानी बढाएको अधिकारीहरू दाबी गर्छन्।
मन्त्री खतिवडाले भने, “नेपालमा हालसम्म नयाँ भेरिअन्ट फैलिएको छैन। यसलाई हाम्रो भाग्य मानौँ। तर सङ्क्रमण आएको खण्डमा सरकारको पूर्ण तयारी अवस्थामा छ।”
त्यस्तै भारतसँगको खुला सीमाका कारण जोखिम यथावत् रहेकाले सीमा क्षेत्रमा १६ भन्दा बढी सहायता डेस्क स्थापना गरेको उनको दाबी छ।
मन्त्री खतिवडाका अनुसार हाल ओहोरदोहोर गर्नेमध्ये कोरोनाभाइरसको लक्षण देखिएकालाई बेग्लै जाँच गरी छुट्टै राख्ने र पीसीआर परीक्षण गराउने गरेको बताए।
त्यस्तै दुई मात्रा खोप लगाएको वा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरूलाई मात्र भारत-नेपाल सीमा पार गर्न अनुमति दिइएको छ।
मन्त्री खतिवडाले भने, “पहिलो चरणमा सचेतना बढाउन जोड दिन निर्देशन दिएका छौँ।”
तर बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले भने पीसीआर नभई एन्टिजेन परीक्षण अनिवार्य गरिएको बताए।
उनले भने,”तत्काल नतिजा देखिने भएकाले एन्टिजेन परीक्षण चाहिँ कडाइका साथ गरिरहेका छौँ। थप के र कसरी गर्ने भन्नेबारे केन्द्रबाट निर्देशन आएको छैन।”
स्वास्थ्यमन्त्री खतिवडाले सङ्क्रमण बढेको अवस्थाका लागि पूर्वाधारदेखि जनशक्ति तयारी अवस्थामा रहेको दाबी गरेका छन्।
उनले भने, “महामारी कायम रहेकाले स्वास्थ्य जनशक्तिलाई जुनसुकै बेला तयारी अवस्थामा रहन निर्देशन दिएका छौँ। त्यस्तै सङ्क्रमणको नयाँ लहर आइहाले अक्सिजन र आईसीयूको अभाव हुँदैन।”
सरकारी एवं निजी अस्पतालहरूले अक्सिजन प्लान्ट जडान गरेकाले अभाव नहुने उनको दाबी हो।
त्यस्तै कोरोनाभाइरस महामारीको दोस्रो चरणको तुलनामा हाल आईसीयू शय्या तीन गुणा बढेको मन्त्री खतिवडाले बताए।
हालका लागि भने सबै नागरिकसम्म खोप पुर्याउनु नै प्राथमिक लक्ष्य रहेको उनले जिकिर गरे।
खतिवडाले भने, “खोप भण्डारणमा चाहिँ केही समस्या देखिएका छन्। हाम्रो भण्डारण क्षमताभन्दा बढी आपूर्ति भएका कारण त्यसो भएको हो।”
“तर यही अवस्थामा पनि एक करोड थप मात्रा व्यवस्थापन गरेका छौँ।”
उनले ज्यानुअरी पहिलो सातासम्म सबै प्रदेशमा भण्डारणका लागि सरकारको भवन र युनिसेफको उपकरणसहितका चिस्यान केन्द्र तयार हुने जानकारी दिए।बीबीसी