काठमाडौ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनबाट उत्पन्न समस्याका बारेमा नेपालले आफ्नो धारणा राष्ट्रिय र अन्तर्ाष्ट्रिय मञ्चमा प्रष्ट रूपमा राखेको बताएका छन ।
‘अन्नपूर्ण मिडिया नेटवर्क’ले काठमाडौँमा शुक्रबार जलवायु परिवर्तनसम्बन्धी काम गर्ने संस्थाहरूसँग सहकार्यको घोषणा गर्न आयोजित ‘युनिटी फर सस्ट्यानिबिलिटी’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको विषयमा सरकारले प्रष्ट धारणा राख्दै आएको बताएका हुन ।
देउवाले भने, “जलवायु परिवर्तनले परेका असरका बारेमा सरकारले गम्भीरताका साथ काम गरिरहेको छ । सरकार, निजी क्षेत्र र सबै सरोकारवाला निकायले मिलेर काम गर्नुपर्छ । जलवायु परिवर्तनबाट पर्ने प्रभावबारे सचेत भएर अघि बढ्नुपर्छ ।” प्रधानमन्त्री देउवाले गत २०२१ नोभेम्बर १ र २ मा ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप २६) अन्तर्गतको वल्र्ड लिडर समिटको प्रसङ्ग उल्लेख गरे ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिडियो सन्देशमार्फत जलवायु परिवर्तन, पृथ्वीको तापक्रम वृद्धि र समुद्रको सतह बढिरहँदा मानव जीवनको रक्षाका लागि सबै पक्षबीच सहकार्यका आवश्यकता औँल्याए ।
त्यसैगरी पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अनुत्तरदायी ढङ्गले आयाअर्जनमा लागेकाहरूबाट जलवायु परिवर्तनमा प्रभाव पुगेको बताए । त्यसैगरी पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भिडियो सन्देशमार्फत जलवायु परिवर्तनबाट हुने वातावरणीय प्रभावलाई कम गर्न विकासका कामलाई व्यवस्थित गर्नुपर्ने र वन विनाश रोक्नुपर्ने धारणा राखे।