काठमान्डौ – उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका कम्तीमा २२ जनाको मृत्यु भएको छ। मरी नाम गरेको ठाउँमा हिमपात हेर्न जान लागेका पर्यटकहरू चढेका झन्डै १,००० वटा सवारीसाधन पहाडी भेगमा अलपत्र परेका हुन्।
स्थानीय आकस्मिक उद्धार सेवा ११२२ का अनुसार मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका भएको बीबीसी उर्दूले जनाएको छ। बीबीसी उर्दूका अनुसार २२ वटा शव इस्लामाबाद र रावलपिन्डी लगेर मृतकका आफन्तलाई हस्तान्तरण गरिएको छ।
अधिकांश मृतकहरू हिउँमा फसेका चारवटा गाडीमा थिए। ज्यान गुमाउनेमा इस्लामाबादमा कार्यरत एक प्रहरी अधिकृत र उनको परिवारका आठ जना छन्। त्यसैगरी मार्दनबाट आएका चार नातेदार र अर्को परिवारका सात जनाको पनि मृत्यु भएको छ।
सेनाले सडक खुलाउने र फसेका मानिसको उद्धार गर्ने प्रयास जारी राखेको छ। सेनाले ३०० जनाभन्दा बढीको उद्धार गरिएको जनाएको छ। सेनाका एक प्रवक्ताका अनुसार सेनाका इन्जिनियर र टोलीहरूले मरीतिर जाने बाटो सफा गर्न थालेका छन्।बिबीसी