एजेन्सि – विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलियामा रहने अन्तिम प्रयासलाई एक अदालतले अस्वीकार गरेपछि उनलाई देश निकाला हुने भएको छ।
अस्ट्रेलियाको सङ्घीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचले भिसा रद्द गर्ने सरकारको निर्णयलाई कायम राखेको छ। अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने निर्णय दिएका हुन्। यो निर्णयसँगै जोकोभिचले गत वर्ष जितेको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन्।
अदालतको निर्णयपछि जोकोभिचले आफू “एकदमै निराश” भएको भए पनि निर्णयलाई सम्मान गर्ने बताएका छन्। “यो देशबाट म बाहिरिनका लागि सम्बन्धित निकायलाई सहयोग गर्नेछु,” उनले एक वक्तव्यमा भनेका छन्। “गएको साताहरू ममाथि नजर केन्द्रित भएको कुराले म असहज छु र म आशा गर्छु कि अब हामी सबै मैले माया गर्ने खेल र प्रतियोगितामा केन्द्रित हुनेछौँ।”बिबीसीबाट