जनकपुरधाम – प्रदेश २ को नाम मधेश नामाकरण भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाई बहुमतका साथ पास गरेको हो । सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए ।
आजको बैठकमा प्रदेशसभा सदस्यहरु शैलेन्द्र साह, शैलेन्द्र यादव र भरतप्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश हुनुपर्ने प्रस्ताव गरेपछि भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० र विपक्षमा १९ मत परेको थियो । त्यसैगरी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फवाट प्रदेश सभा सदस्य परमेश्वर साहले राजधानी जनकपुरधाम राख्न गरेको प्रस्ताव माथि भएको मतदानमा राजधानी जनकपुरको पक्षमा ७८ मत परेपछि दुइतिहाई बहुमतले राजधानी जनकपुरधाम कायम गरिएको हो । उक्त प्रस्तावको विपक्षमा २१ मत परेको थियो ।
राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्तावमाथि प्रदेश सभामा उपस्थित ९९ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए । राजधानी जनकपुरधामको पक्षमा दुईतिहाइ बहुमत प्राप्त भएपछि अन्य प्रस्तावहरु अस्विकृत भएको घोषणा प्रदेश सभाका सभामुख सरोज यादवले गरे ।