सत्र सय सुरक्षाकर्मी सङ्क्रमित

समाचार
शेयर गर्नु होला

काठमाडौ – कोरोना भाइरस (कोभिड–१९) को चौतर्फी सङ्क्रमण बढेसँगै सुरक्षाकर्मीमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमणबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्ये एक हजार ७२१ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनको काममा सुरक्षाकर्मीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिँदै आएका छन।

चारवटा सुरक्षा निकायमध्ये पहिलो पङ्क्तिमा खटिने नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मीमा सबैभन्दा बढी ९५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्क्रमितमध्ये ६० जनालाई विभिन्न अस्पतालमा भर्ना गरी उपचार भैरहेको छ । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसीले कोरोना सङ्क्रमितको सङ्ख्या बढेको र सङ्क्रमितहरूमा जटिल स्वास्थ्य समस्या भने नदेखिएको जानकारी दिए ।

नेपाली सेनामा कार्यरतमध्ये ४१० जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये ४० जनाको अस्पतालमा उपचार भैरहेको छ भने अन्य सङ्क्रमितलाई आईसोलेसनमा राखिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले सङ्क्रमितमध्ये आठ जनालाई ‘हाई डिपेन्डेन्सी युनिट’ (आईसीयू)मा राखेर उपचार भैरहेको जानकारी दिए । सेनाले मातहतका सुरक्षाकर्मीलाई सरकारको निर्देशन र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार पूर्वसतर्कता र उपचार पद्धति अपनाएको जनाएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपालमा कार्यरत २७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले सङ्क्रमितलाई विभिन्न अस्पताल तथा आईसोलेसन सेन्टरमा राखेर उपचार भैरहेको जानकारी दिए । प्रवक्ता श्रेष्ठले सङ्क्रमितमध्ये अहिलेसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या भने नदेखिएको जानकारी दिए ।

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभागले सङ्क्रमितहरूलाई चिकित्सकको निगरानीमा उपचार भैरहेको जनाएको छ ।गोरखापत्र दैनिकबाट


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *