काठमाडौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले २४ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप नहराएको स्पष्टीकरण दिएका छन। सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले खोप नहराएको स्पष्टीकरण दिएका हुन।
बाटोमा भएको ग्याप र खेर गएको खोपको तथ्याङ्क अौन बाँकी रहेकोले २४ लाख अपुग देखिएको उहाँले जानकारी दिए । खोप खोजीका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय समितिले छानबिन गरिरहेको पनि मन्त्री खतिवडाले बताए । उहाँका अनुसार मन्त्रालयले समितिलाई दुई हप्ताको समय दीएको छ ।
‘केन्द्रले प्रदेशमा, प्रदेशले जिल्लामा, जिल्लाले स्थानीय तहमा कति पठाएको खोपको विवरणको रिपोर्ट समितिले फागुन २ गतेभित्र रिपोर्ट तयार पार्छ,’ मन्त्री खतिवडाले जानकरी दिए । त्यस्तै गरी २०७९ वैशाख मसान्तसम्म १२ वर्षमाथिका सबै लक्षित जनसंख्या सबैलाई कोभिड–१९ बिरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको पनि मन्त्री खतिवडाले जानकारी दिए ।
यसाघि सरकाले १८ वर्षमाथिका लक्षित जनसङ्ख्यालाई चैत मसान्तसम्म पूर्ण खोप दिने लक्ष्य लिएको थियो । १२ वर्षमाथिका बालबलिकाहरुलाई पनि खोप आएकाले समय लम्ब्याइेको उनले जानकारी दिए । यसको लागि आवश्यक पर्ने खोपको मौज्दात सुनिश्चित गरिसकिएको र हाल खोप लगाउने दरलाई हेर्दा यो लक्ष्य तोकिएको मितिभन्दा अगावै प्राप्त हुने मन्त्री खतिवडाको दाबी छ ।
यसका साथै सरकारले १८ वर्ष माथिका सबै जनसङ्ख्यालाई बुस्टर डोज खोप दिने निर्णय गरेको पनि मन्त्री खतिवडाले कार्यक्रमा जानकारी दिए । ‘यसाघि हामीले फ्रन्टलाइनरलाई मात्र बुस्टर डोज दिने भनेका थियौं । अब फागुन १ गतेदेखि १८ वर्षमाथिका दोस्रो डोज लगाएको ६ महिना पूरा भैसकेका सबैलाई बुस्टर डोज दिन्छौं,’ उनले भने।
मन्त्री खतिवडाले पाँच वर्षमाथिका बालबालिका लागि खोपको उपब्धताका लागि पत्रचार गरिसकेकोे जानकारी दिए । मन्त्री खतिवडाका अनुसार नेपालले हालसम्म खरिद र बिभिन्न देशको अनुदान सहयोगमा ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको छ ।
प्राप्त गरिएकामध्ये तीन करोड ४८ लाख २५ हजार ६०१ डोज खोप लगाइसकिएको छ। ‘२०७८ आश्विनसम्म लक्षित जनसङ्ख्याको एक तिहाइलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको छ,’ मन्त्री खतिवडाले भने, ‘२०७८ माघ २७ गते सम्म १२ वर्षभन्दा माथिको लक्षित जनसङ्ख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको छ ।’