काठमान्डौ – चार देशीय शृङ्खलाको दोस्रो खेलमा नेपाल संयुक्त अरब एमिरेट्स (यूएई) सँग २५ रनले पराजित भएको छ । यूएईले प्रस्तुत गरेको १ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा मात्र १६७ रन बनाउन सक्यो
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले ११ र शरद भेषाव करले १० रन बनाए । राष्ट्रिय टिममा डेब्यू गरेका बमले भने ३३ रन बनाउँदै सुखद संकेत देखाए । नियमित ओपनर कुशल भुर्तेललाई लगातार दोस्रो खेलमा आराम दिँदा नेपालले शनिबार ओपनिङ जोडीमा परिवर्तन गर्दै पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आसिफ सेखलाई ल्याएको थियो ।
यूएईका लागि रोहन मुस्ताफा र कासिफ दाउदले २-२ तथा जुनैद सिद्दिकीले १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको युएीले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको थियो । यूएईका ओपनर चिराग सुरीले ५३ बल खेल्दै ५ चौका र ५ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । यस्तै रोहन मुस्ताफाले ४९, मुहम्मद वासिमले २२ र बसिलले १७ रन जोडे । मोहम्मद बुटाले अविजित १४ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ शेखले समान एक विकेट लिए ।
आइसीसी टी(२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल,ओमान , यूएई र आयरल्यान्ड चारदेशीय शृङ्खलामा सहभागी छन् ।