एमसीसी अनुमोदन गर्ने विषयमा पार्टीले निर्णय गरिसकेको छ – प्रम देउवा

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि थुप्रै ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै आएको भए पनि त्यसलाई प्रचारप्रसार गरी जनतासम्म पु-याउनुपर्नेमा जोड दिनुभएको छ।

नेपाली कांगँरेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’को आज प्रधानमन्त्री निवास बालुवाटारमा विमोचन गर्दै उहाँले लोकतन्त्र, न्याय, समानताका पक्षमा स्थापनाकालदेखि क्रियाशील काँग्रेसका बारेमा गलत प्रचार गर्नेविरुद्ध निर्भयका साथ प्रतिवाद गर्नुपर्दछ भन्नुभयो ।

प्रधानमन्त्री देउवाले नेपालमा पटक पटकका प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरी मुलुकमा लोकतन्त्रको स्थापनादेखि देशको विकास र नागरिकको उत्थानमा नेपाली काँग्रेसले उल्लेखनीय कार्य गरेको भए पनि त्यसको उचित प्रचार प्रसार हुन नसकेको भन्दै काँग्रेसले देशको उत्थान र विकासमा गरेका कार्यहरुको प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले स्थापनादेखि नै जनता र देशका पक्षमा काम गर्दै आएको काँग्रेसले यसपटक पनि अंेरिकी सहायता निकाय, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) पनि नेपालको विकासका लागि भएकाले यसलाई अनुमोदन गर्नुपर्दछ भन्ने स्पष्ट अडानमा रहेको उल्लेख गर्नुभयो । “एमसिसीका बारेमा नेपाली काँग्रेसको धारणा एुटै छ, यसलाई अनुमोदन गर्ने विषयमा पार्टीले निर्णय गरिसकेको छ”, उहाँले भन्नुभयो ।

सभापति देउवाले नेपालमा प्रजातन्त्र स्थापनामा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशम्शेर राणा, कृष्णप्रसाद भट्टराई, सूर्यनाथ उपाध्यायको ठूलो योगदान रहेको भन्दै उहाँहरुलाई काँग्रेसले सदैव सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले नेता केसीले लेखेको उक्त पुस्तक नेपाली कांग्रेसको इतिहास थाहा पाउन चाहने जो कोहीलाई पनि मार्गदर्शक हुने बताउँदै सम्पूर्ण नागरिकलाई पुस्तक पढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसले राष्ट्रिय हितका पक्षमा खुट्टा कमाउन नहुने बताउनुभयो । “काँग्रेस बोली फेरिरहने पार्टी होइन, काँग्रेसले आफ्नो दृढ अडान कायम राख्छ”, उहाँले भन्नुभयो । काँग्रेसभित्र आबद्ध व्यक्तिले काँग्रेस बुझ्नु जरुरी रहेको बताउँदै उक्त पुस्तक काँग्रेस बुझ्न चाहनेका लागि प्रेरणाको स्रोत बन्ने उहाँको भनाइ थियो ।

काँग्रेस नेता एवं पुस्तकका लेखक अर्जुननरसिंह केसीले झण्डै तीन दशक आफू काँग्रेस केन्द्रीय तहमा रहँदा विभिन्न पार्टीका कार्यक्रम र प्रशिक्षणका क्रममा उठेका प्रश्नलाई सम्बोधन गर्नका लागि आफूले उक्त पुस्तक तयार गरेको बताउनुभयो । स्थानीय तहमा रहेका काँग्रेसका हजारौँ कार्यकर्तालाई कांग्रेसको सकारात्मक पक्षका बारेमा चिनाउनका लागि उक्त पुस्तक तयार गरेको नेता केसीको भनाइ थियोे ।

पुस्तकका बारेमा टिप्पणी गर्दै वरिष्ठ पत्रकार प्राध्यापक पुरुषोत्तम दाहालले एुटा किताबमा पार्टीको सिङ्गो इतिहास अटाउन नसक्ने बताउँदै पार्टीको शीर्ष नेताबाट काँग्रेसको इतिहासका बारेमा पुस्तक लेख्न सुरु गर्नु सकारात्मक भएको बताउनुभयो । उहाँले पुस्तकले विसं २००७ को क्रान्तिका नायक विश्वेश्वरप्रसाद कोइराला, २०४६ सालको जनाअन्दोलनको कमाण्डर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र २०६२÷०६३ को आन्दोलनका नेता गिरिजाप्रसाद कोइरालालाई जुन हिसाबले चिनाउनुपर्ने हो त्यो चिनाउन नसकेको टिप्पणी गर्नुभयो ।

अर्का टिप्पणीकार राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतमले मुलुकका लागि काँग्रेस किन र कसरी बन्यो भन्ने आम नागरिकको अलमललाई पुस्तकले मेटाउने प्रयास गरेको बताउनुभयो । पुस्तकमा भाषागत त्रुटि भए पनि पुस्तक पठनीय मात्र नभैइ सङ्ग्रहणीय भएको उहाँको भनाइ छ ।

अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन प्राली प्रकाशक रहेको ४८४ पृष्ठको यस पुस्तकमा भूमिका पूर्वराष्ट्रपति डा. रामवरण यादव र प्रा. डा। लोकराज बरालले लेख्नुभएको छ । पुस्तकमा नेपाली काँग्रेसका बारेमा इतिहास, संरचनागत सङ्गठन, इतिहास निर्माता नेताको वीरतापूर्ण योगदान, पार्टीको झण्डा, निर्वाचन चिह्नलगायतका ऐतिहासिक विषयमा गहिरो ज्ञान लिन चाहनेका लागि उपयोगी देखिन्छ ।

पुस्तकमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना, नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना, दुवै काँग्रेसको एकीकरण, काँग्रेस स्थापनाभन्दा अघिका विद्रोह र विद्रोहीको रोचक–रोमाञ्चक परिचय, काँग्रेसले उनीहरूको योगदानलाई विरासतका रुपमा ग्रहण गर्नुका कारणबारे अत्यन्त रोचक इतिहासको प्रस्तुति गरिएको छ ।

इतिहासका विभिन्न कालखण्डमा परिवर्तनका निम्ति सहभागी, त्याग, योगदान र जीवन उत्सर्ग गरेका, हराएका तथा ओझेलमा परेका, बिर्सिएका प्रजातान्त्रिक आन्दोलनका उल्लेखनीय क्रान्तिकारीलाई चिनाउने जमर्को यस पुस्तकले गरेको छ । साथै २००७ सालको क्रान्ति, २००७ सालपछि २०१५ सालसम्म काँग्रेसको अवस्था, २०१५ सालमा आम निर्वाचनपछि पहिलो जननिर्वाचित सरकार गठन गर्न काँग्रेसले गर्नुपरेको सङ्घर्ष तथा २०१७ सालपछि पार्टीले भोग्नुपरेको प्रतिबन्ध र निषेधको अवस्थामा काँग्रेसको गतिविधिबारेमा खोजमूलक जानकारी दीएको छ ।

पुस्तकमा २०३३ सालमा प्रतिपादित राष्ट्रिय मेलमिलाप तथा एकता नीति, २०३६ सालको जनमत सङ्ग्रह र देशव्यापी विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनाअन्दोलन, २०४७ को संविधान, राजाको प्रत्यक्ष शासन, माओवादीलाई शान्तिपूर्ण खुला राजनीतिमा ल्याउँदाका गतिविधि, शान्ति प्रक्रियामा नेतृत्व, २०६२–६३ को जनाअन्दोलन अन्तरिम संविधानदेखि २०७२ को संविधान जारी गर्ने बेलासम्म कांग्रेसको भूमिका के कस्तो रह्यो भन्ने विषयहरुको विवरण यस पुस्तकमा विस्तार गरिएको छ ।

यसैगरी २००३ सालदेखि २०७८ सम्मका काँग्रेसका ऐतिहासिक गतिविधि वा घटनाको तिथिमितिका साथै पार्टीका वरिष्ठ नेताहरूको निधनको जानकारी पनि समेटिएको छ ।रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *