बिबीसी –रुसले आक्रमण गरेको तेस्रो दिन युक्रेनको राजधानी किएभमा विस्फोटन भएका विवरणहरू आइरहेका छन् भने युक्रेनका विभिन्न ठाउँमा भीषण सङ्घर्ष भैरहेको छ। राजधानीमा मैदान स्क्वाएरनजिकै एउटा शक्तिशाली विस्फोटनको आवाज सुनिएको छ भने ट्रोइयस्चना क्षेत्रमा एउटाभन्दा बढी विस्फोटन भएका विवरण आएका छन्।
प्रत्यक्षदर्शीका अनुसार किएभमा गरिएका बमबारीको आवाज सहरको मध्यभागबाट कोसो टाढासम्म सुन्न सकिन्छ। किएभ इन्डिपेन्डन्टका अनुसार सहरको चिडियाखाना र सुलियाभ्कानजिकै अवस्थित एउटा क्षेत्रबाट ५० वटाभन्दा बढी विस्फोटनहरू सुनिएको छ र मशीनगनबाट गोली प्रहार भैरहेको सुनिन्छ।
फक्स न्यूजका एक संवाददाताका अनुसार राजधानीमा अहिले एकभन्दा बढी दिशाबाट आक्रमण भैरहेको छ। ट्रोइयस्चना जिल्लाको सीएचपी-सिक्स ऊर्जा केन्द्रनजिकै लडाइँ भैरहेको युक्रेनी सेनाले जनाएको छ। सहरमा विद्युत् आपूर्ति बन्द गरिदिने उद्देश्यले उक्त आक्रमण गरिएको हुनसक्ने ठानिएको छ। पिरिमोही एभिन्यूमा क्षतिग्रस्त गाडीसँग आगो बलिरहेका दृश्यहरू देखिएका छन्।
भ्यासीलकिभनजिकै रहेको एुटा हवाईअड्डामा पनि भीषण सङ्घर्ष भएको विवरण आएको छ। पाराट्रूपरहरूले उक्त क्षेत्रलाई किएभमा आक्रमण गर्न योजना बनाउने स्थलका रूपमा प्रयोग गर्न खोजिरहेको ठानिएको छ। युक्रेनी सैनिकहरूले रुसीहरूलाई ब्ल्याक सीमा अवस्थित मिकोलिएभ सहरबाट पछाडि धकेलिदिएको दाबी गरेका छन्। युक्रेनी सेनाले आफ्नो फेसबुक पेजमा शनिवार किएभस्थित सैनिक अड्डाले रुसी फौजको आक्रमणको आफूले प्रतिरोध गरेको जनाएको छ।