न्युवोर्क – अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन्।
उनले अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ “तेस्रो विश्वयुद्ध सुरु गरे सरह” हुने चेतावनी दिए। युक्रेनले भने पश्चिमा देशहरूसँग पटक पटक नेटोमार्फत सैन्य सहायताको माग गरिरहेको छ।
यद्यपि अमेरिकामा, राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन्। जस अन्तर्गत रुसी रक्सी, समुद्री खाद्य सामग्री र हीराको आयातमा रोक लगाइएको छ।
उनले अमेरिकाले रुसी कुलीन वर्गमाथि आर्थिक प्रतिबन्ध बिस्तार गर्दै लग्ने समेत बताएका छन्।
रुसले भने संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा, युक्रेनमा अमेरिकाको सहयोगमा जैविक हतियारका गतिविधिहरू भएको दाबी गरेको छ। उसले यथेष्ट प्रमाणविना नै युक्रेनका ३० वटा प्रयोगशालामा जैविक हतियार विकास भइरहेको बताएको हो।
अमेरिकाले यो “पूर्ण रूपमा मिथ्या जानकारी” भएको र रुसले युक्रेनमा आफ्नो आक्रमणको औचित्य प्रमाणित गर्न झुट फैलाइरहेको बताएको छ।
यसैबीच युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन शुरू हुँदा नेटोले उसका फौजलाई १४ मार्च सोमवारका दिन नर्वे पठाउने जनाएको छ।
I want to be clear: We will defend every inch of NATO territory with the full might of a united and galvanized NATO.
But we will not fight a war against Russia in Ukraine.
A direct confrontation between NATO and Russia is World War III. And something we must strive to prevent.
— President Biden (@POTUS) March 11, 2022
२७ देशका करिब ३०,००० सैनिक, २०० विमान र ५० वटा ट्याङ्कहरूले ‘कोल्ड रेसपोन्स २०२२’ अभ्यास गर्ने ठानिएको छ। यसलाई नेटो फौज संलग्न यो वर्षको सबभन्दा ठूलो अभ्यास भनिएको छ।
मार्च १४ मा शुरू हुने यो अभ्यासले पश्चिमा मुलुकहरूलाई ध्रुवीय लगायत चीसो मौसममा जमिनमा, समुन्द्रमा र आकाशमा उनीहरूको युद्ध कौशल तीखार्न मद्धत मिल्नेछ।
यो अभ्यास रुसी सीमाको केही सय किलोमिटर टाढा हुनेछ। मस्कोको युक्रेनमाथि आक्रमण गर्नु अगाडि नै योजना बनाइएको यो अभ्यासको महत्त्व अहिले त्यहाँ भइरहेको युद्धका कारण झन् बढेको छ।
नर्वेका रक्षा मन्त्री अड रोजर एनोकसेनले भने, “यो अभ्यास नर्वे र उसका सहयात्रीहरूका लागि असाध्यै मह्त्त्वपूर्ण छ।”
यो सैन्य अभ्यास १ एप्रिलमा अन्त्य हुने ठानिएको छ।बीबीसी