नया दिल्ली – भारतले पाकिस्तानमा भुलवश एउटा क्षेप्यास्त्र प्रहार भएको घटनालाई “आफूले गम्भीरतापूर्वक” लिएको भन्दै त्यसबारे उच्चस्तरीय तहमा छानबिन गर्न आदेश दिएको छ।
उक्त घटना मार्च ९ मा भएको थियो तर भारतले त्यसलाई दुई दिनपछि स्वीकार गरेको थियो। उसले मर्मत-सम्भारका क्रममा भएको “प्राविधिक त्रुटि”का कारण सो घटना भएको बताउँदै आएको छ।
भारतका विदेशमन्त्री राजनाथ सिंहले मङ्गलवार संसद्मा बोल्दै उक्त घटनाप्रति खेद व्यक्त गरे। तर उक्त घटनामा कुनै मानवीय क्षति नभएकोमा उनले सन्तोष व्यक्त गरे।
रक्षामन्त्री सिंहले भारतले आफ्नो अस्त्र प्रणालीको सुरक्षा र रक्षालाई सर्वोच्च प्राथमिकता दिने गरेको र कथित दुर्घटनाको वास्तविक कारण अनुसन्धानबाट मात्र पत्ता लाग्ने बताए।
भारत र पाकिस्तान दुवै परमाणुअस्त्रसम्पन्न राष्ट्र हुन्।
पाकिस्तानको सेनाले “तीव्र वेगको उडिरहेको वस्तु” आफ्नो देशको पूर्वी सहर मिआँ चान्नुनजिकै दुर्घटनाग्रस्त भएको जनाउँदै त्यसको उडानमार्गले यात्रुवाहक विमानहरूलाई जोखिममा पारेको बताएको थियो।
उसले भारतको “असंवेदनशील र लापरबाहीपूर्ण” व्यवहारको आलोचना गर्दै उक्त घटनाबारे वास्तविकता पत्ता लगाउन संयुक्त अनुसन्धान गर्नुपर्ने माग गरेको थियो।
शनिवार पाकिस्तानीको विदेश कार्यालयले भारतले दिएको “साधारण स्पष्टीकरण” प्रति असन्तुष्टि व्यक्त गरेको थियो। उसले संयुक्त छानबिन गर्नुपर्ने माग राखेको थियो।
पाकिस्तानी वायुसेनाले उक्त क्षेप्यास्त्र ध्वनिको वेगभन्दा तीनगुना तीव्र गतिमा १२ हजार मिटरको उचाइबाट उड्दै १२४ किलोमिटर दूरी पार गरेर पाकिस्तानी हवाई क्षेत्रमा प्रवेश गरेको र त्यसपछि दुर्घटनामा परेको जनाएको छ।
“उक्त वस्तुको उडानमार्गले भारतीय र पाकिस्तानी हवाई क्षेत्रमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय यात्रु उडानहरू, साथै मानिसको जीवन र पृथ्वीको अन्य वस्तुलाई जोखिममा पारेको थियो,” पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनरल बाबर इफ्तिखारले अघिल्लो साता भनेका थिए।
त्यसको एक दिनपछि पाकिस्तानको विदेश मन्त्रालयले एक उच्च भारतीय कूटनीतिक अधिकारीलाई बोलाएर उक्त घटनाका बारेमा विरोध प्रकट गरिएको बताएको थियो।
पाकिस्तानले भारतलाई घटनाबारे उसको अनुसन्धानबाट फेला परेका विषयवस्तु जानकारी गराउन पनि आग्रह गरेको छ।
पाकिस्तानी सेनाको भनाइ अनुसार प्रहार भएको क्षेप्यास्त्र ब्रह्मोस मिसाइल हुनसक्छ।बीबीसी