मारिऊपोल – रुसले अबको केही घण्टाभित्र आत्मसमर्पण गर्ने मारिऊपोलमा तैनाथ युक्रेनी सैनिकहरूको जीवन सुनिश्चित गर्ने बताएको छ।
मस्कोले उसका फौजहरूले उक्त शहरका स्टील कारखानाहरू रहेको एउटा सानो क्षेत्रबाहेक लगभग सबै ठाउँबाट प्रतिरोध हटाएको जनाएको छ।
रुसको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त उद्योग क्षेत्रको अवस्था निक्कै खराब रहेको छ।
रुसी फौजहरूले मस्कोको समय अनुसार ६ बजे (०३:०० जीएमटी समय) बाट कैयौँ घण्टासम्म एजोभस्टाल स्टिल कारखाना रहेको क्षेत्रमा रहेका सबै सैनिकहरूलाई हतियार र गोलीगठ्ठा बिसाएको खण्डमा जान दिइने भनिएको हो।
त्यस्तो गर्ने सबैलाई युद्ध बन्दी सम्बन्धी जिनिभा महासन्धि अनुसार व्यवहार गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ।
यदि उनीहरूले त्यसलाई स्वीकार गरे भने रुसी फौजहरूले ६ बजे रातो झन्डा देखाउनेछन् र युक्रेनीहरूले स्टील कारखानाको क्षेत्रभर सेतो झन्डा देखाउनुपर्नेछ।
युक्रेनी अधिकारीहरूले उनीहरूले उक्त योजना स्वीकार गर्ने कुनै सङ्केत दिएका छैनन्।
शनिवार राष्ट्रपति जेलेन्स्कीले रुसले मारिऊपोलमा बाँकी सैनिकहरूको हत्या गरे शान्ति वार्ता भङ्ग हुने चेतावनी दिएका थिए।
मारिऊपोलका मेयरले कम्तीमा २० हजार गैर सैनिकहरू हप्तौँदेखिको निरन्तर हमलामा मारिएको जनाएको छ।
घेराबन्दीमा परेको उक्त शहर ‘लडाइँको केन्द्रमा’ रहेको युक्रेनी नेतृत्वले बताउँदै आएको थियो।
गएको मार्चबाट रुसी फौजले मारिऊपोललाई घेराबन्दी गर्न थालेका थिए।
निरन्तरको गोलाबारीले उक्त शहरलाई भग्नावशेषमा परिणत गरेको छ जसका कारण गैर सैनिकहरू घरमुनि बनाइएका भूमिगत आश्रयस्थलमा लुकेका बताइन्छ।
त्यहाँ बिजुली, पानी, खानेकुरा र औषधिको आपूर्ति समेत रोकिएको थियो।
यसैबीच रुसले पश्चिमा देशहरूले उपलब्ध गराएको हतियार बोकेको एउटा युक्रेनी सैनिक विमानलाई आफूले खसालिदिएको जनाएको छ।
दक्षिण पश्चिम युक्रेनको ओडेसा शहरमा उक्त आक्रमण भएको रुसी समाचार संस्था टासले रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ।
बीबीसीले उक्त जानकारीको स्वतन्त्रतापूर्वक पुष्टि गर्न सकेको छैन र त्यहाँ कुनै मानवीय क्षति भयो या भएन भन्ने प्रस्ट भइसकेको छैन।बीबीसी
Video Soure: news.co.au