आगामी साताबाट काठमाण्डूमा मेलम्ची नदीबाट ल्याइएको पानी वितरण सुरु गर्न सकिने सम्भावना

Breaking News समाचार
शेयर गर्नु होला

काठमांडौ – आगामी साताबाट काठमाण्डूमा मेलम्ची नदीबाट ल्याइएको पानी वितरण सुरु गर्न सकिने सम्भावना देखिएको काठमाण्डू उपत्यका खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ।

गत चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पठाइएको पानी सुन्दरीजल आइपुगेसँगै यस्तो सम्भावना बढेको बताइएको छ।

आयोजनाको हेडवर्क्स भनिने संरचनाको मर्मत एवं सुरुङ तथा त्यहाँ पुग्ने रुटको सफाइ कार्य सकिएसँगै पानी पठाउन सुरु गरिएको थियो।

”हामीलाई करिब करिब आइतबारबाट उहाँहरूले (आयोजना) वितरणका लागि (पानी) छोड्ने भन्ने कुरा भइरहेको छ,” केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले भने।

काठमाण्डू उपत्यकामा धाराको नयाँ पाइपलाइन जडान सम्पन्न भइसकेका स्थानमा नयाँ बाट र नभएका ठाउँमा पुरानै पाइपलाइनबाट पानी वितरण गरिने उनले जानकारी दिए।

त्यसका लागि आवश्यक सामग्रीको व्यवस्था केयूकेएलले गरिसकेको बताइएको छ।

आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाण्डू उपत्यकामा वितरणका लागि २६ किलोमिटरभन्दा लामो सुरुङ तथा पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरिएको थियो।

विगतमा सुन्दरीजलबाट ल्याइने पानी केयूकेएलले महाङ्काल, बालाजु, बाँसबारी, खुमलटार, बानेश्वर, बोडे र किर्तिपूरसम्म पुर्‍याएको र यसपालि पनि तीनै स्थानसम्म पानी पुर्‍याउने लक्ष राखिएको बताइएको छ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका अनुसार सोमबार राति मेलम्ची नदीको पानी नियन्त्रित रूपमा सुन्दरीजलसम्म ल्याइपुर्‍याइएको हो।

तर हालसम्म सुरुङ भने भरिएको छैन।

”यो पानी सुरुङ नभरिएका कारण मेलम्चीमै फिर्ता जान्छ। सुरुङ ओरालो उकालो भएकाले भरिन अझै २ देखि ३ दिन लाग्छ र भरिएपछि प्रशोधन केन्द्रमा झर्छ,” आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले भने।

सोमबार सुन्दरीजल पुगेको पानी सुरुङ सफा गर्नका लागि राति १० बजेबाट बिहान पाँच बजेसम्म बागमती नदीमा प्रवाह गरिएको उनले बताए।

अब भने सुरुङको द्वार बन्द गरेर पानी भर्ने काम सुरु गरिएको बताइएको छ।

त्यसपछि मात्रै आयोजनाले चाहिए जति पानी प्रवाह गर्न थाल्ने कुँवरले जानकारी दिए।

”अहिले हामीले २०० देखि ३०० लिटर प्रति सेकेन्ड पानी पठाएका छौँ भने सुरुङ भरिएपछि सुन्दरीजल पठाउँदा एक सेकेन्डमा २,००० लिटर पानी पठाउँछौँ,” उनले भने।

”तीन दिन जतिमा प्रशोधन केन्द्रमा पानी छिर्छ। त्यसपछि ‘आउटफ्लो’ हुने काम त भइहाल्छ नि।”बीबीसी


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *