भरतपुर – स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई मनोनयन फिर्ता लिन निर्वाचन आयोगले दिएको समय शुक्रवार अपराह्ण ५ बजेबाट सकिएको छ।
निर्वाचन आयोगले देशभरि मनोनयन फिर्ता लिने व्यक्तिको पूर्ण विवरण आउन बाँकी रहेको र शुक्रवार साँझसम्म करिब ४,००० जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको छ।
“करिब ४,००० जनाले उम्मेदवारी फिर्ता लिएको हामीलाई तथ्याङ्क प्राप्त भएको छ,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।
प्रमुख राजनीतिक दलले उठाएका उम्मेदवारविरुद्ध बागी बनेका उम्मेदवारलाई मनोनयन फिर्ता लिन दलहरूले अन्तिम समयसम्म प्रयास जारी राखेका थिए।
शुक्रवार पनि सत्ताधारी गठबन्धनमा सहभागी दलहरूले बागी र स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्ताहरूको उम्मेदवारी फिर्ता लिन पहल गर्ने सहमति गरेका थिए।
अहिले सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकामा पार्टीको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता गरेनन्।
सत्ता गठबन्धनले त्यहाँ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी नेत्री रेनु दाहाललाई उठाउने निर्णय गरेको थियो। उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन्।
पौडेलको उम्मेदवारी फिर्ता गराउने उद्देश्यले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई भरतपुर पठाएको बताइन्छ।
उनीहरूलाई पौडेलले आफूलाई जिल्लाका कांग्रेस कार्यकर्ता र नेताहरूले उठाएको र आफू उम्मेदवारी फिर्ता लिन सक्ने अवस्थामा नभएको भन्दै पार्टीले कारबाही गरे कुनै गुनासो नगर्ने बताएका थिए।
पौडेलले पार्टीका शीर्ष तहका नेताहरूले उम्मेदवारी फिर्ता लिन आग्रह गरे पनि आफू सहमत नभएको बताए।
“जिल्लाका कार्यकर्ताहरू निराश बन्ने र उनीहरूको मनोबल गिर्ने अवस्था आएपछि कारबाही भोग्न तयार भएर नै मैले उम्मेदवारी दिएको हुँ, फिर्ता लिने उद्देश्यले दिएको थिइनँ,” पौडेलले भने।
“लोकतन्त्र र कांग्रेसलाई बलियो बनाउन मेरो उम्मेदवारीले सहयोग नै गर्छ भन्ने मेरो विश्वास छ।”बीबीसी