वासिङ्टन – विश्व स्वास्थ्य सङ्गठनले कोभिड महामारीका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसहरूको ज्यान गएको अनुमानित विवरण सार्वजनिक गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनले धेरै देशहरूले कोभिडका कारण मृत्यु हुनेहरूको सङ्ख्या कम गणना गरेको विश्वास गरेको छ। कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या ५४ लाख मात्रै गणनामा समावेश गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठनले भारतमा मात्रै कोभिड सङ्क्रमणका कारण ४७ लाख मानिसहरूको मृत्यु भएको हुनसक्ने जनाएको छ। यो सङ्ख्या भारतले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क भन्दा १० गुणाले बढी हो।
यो विवरण अनुसार कोभिड महामारीबाट विश्वभर मृत्यु हुनेहरूको एक तिहाइ सङ्ख्या भारतमा देखिन्छ।
तर भारत सरकारले विश्व स्वास्थ्य सङ्गठनको यो आकलनमा प्रश्न उठाएको छ।
भारतले गणनाको विधिमा “चिन्ता” रहेको बताए पनि अन्य अध्ययनहरूले पनि भारतमा कोभिडबाट मृत्यु हुनेहरूको सङ्ख्या सरकारी तथ्याङ्कभन्दा बढी रहेको देखाएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले प्रयोग गरेको मापनलाई अतिरिक्त मृत्यु भनिएको छ। जसमा महामारी सुरु भएपछि मृत्यु हुने मानिसहरूको सङ्ख्या महामारी अघिको त्यही समयको मृत्युदर भन्दा कति बढी थियो भन्ने अन्तर हेरिएको छ।
यो विधिले प्रत्यक्ष कोभिडकै कारण मृत्यु नभएका तर कोभिड महामारीले निम्त्याएका अप्रत्यक्ष समस्याहरूका कारण भएका मृत्युहरूलाई पनि गणना गर्छ।
The total number of deaths associated with #COVID19 worldwide from 2020-2021 may be closer to 14.9 million: New estimates by WHO & @UNDESA.
That’s 9.5 million more deaths than reported https://t.co/qDvaA6t5KZ #HealthData pic.twitter.com/ZjABJzlgiZ
— World Health Organization (WHO) (@WHO) May 5, 2022
जसमा मानिसहरू कोभिडका कारण अस्पतालबाट आवश्यक सेवा लिन वञ्चित भएका कारण भएका मृत्यु जस्ता कारणहरू पर्छन्। यसले केही क्षेत्रहरूमा भएको कमजोर तथ्याङ्क सङ्कलन र महामारीको सुरुवाती समयमा देखिएको परीक्षण अभावजस्ता समस्याहरू पनि उजागर गरेको छ।
तर विश्व स्वास्थ्य सङ्गठनले देशहरूको तथ्याङ्कमा देखिएको ५४ लाखबाट आफ्नो आकलनमा थपिएको ९५ लाख मृत्युका अधिकांश घटना कोभिडको प्रत्यक्ष असरका कारण भएको दाबी गरेको छ।
पछिल्लो तथ्याङ्कलाई विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क विभागकी समिरा आस्माले “दुःखान्त” भनेकी छिन्।
“यो अचम्मित बनाउने सङ्ख्या हो। हामीले गुमाएका जीवनहरूलाई सम्मान गर्नु र नीति निर्माताहरूलाई जिम्मेवार बनाउनु जरुरी छ,” उनले भनिन्।
“यदि मृत्युको सही गणना गरेनौँ भने अर्को पटक राम्रो तयारी गर्ने अवसरबाट हामी वञ्चित हुन सक्छौँ।”
भारत बाहेक सरकारी विवरणहरूमा भन्दा विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा धेरै कोभिड मृत्यु देखिएका देशहरूमा रुस, इन्डोनेसिया, अमेरिका, ब्रजिल, मेक्सिको र पेरु छन्।
रुसले सार्वजनिक गरेको कोभिड मृत्युको विवरणभन्दा विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो विवरण साढे तीन गुनाले बढी छ।
प्रतिवेदनले देशको जनसङ्ख्याको आकारसँग समेत अतिरिक्त मृत्युको दरलाई तुलना गरेको छ। सन् २०२० र २०२१ मा यूके सहित अमेरिका, स्पेन र जर्मनी जस्ता देशहरूको अतिरिक्त मृत्युदर विश्वको औसतभन्दा बढी देखिएको छ।
अतिरिक्त मृत्युदर कम भएका देशहरूमा चीन अगाडी छ। यो देशले अझैसम्म पनि शून्य कोभिडको रणनीति अङ्गीकार गर्दै व्यापक परीक्षण र क्वारन्टिनको नियम लगाएको छ।
भाइरसलाई देश बाहिरै राख्न कडा यात्रा प्रतिबन्ध लागु गरेको अस्ट्रेलियामा पनि अतिरिक्त मृत्युदर कम छ। नर्वे र जापान पनि यो सूचीमा समावेश छन्।
प्रतिवेदन तयार गर्ने क्रममा सहयोग गरेका प्राज्ञिक व्यक्तिहरूले सब सहारा अफ्रिका क्षेत्रमा मृत्युको तथ्याङ्क उपलब्ध नभएका कारण केही देशहरूको विवरण भने अनुमानित मात्रै रहेको बताएका छन्।
अफ्रिकाका ५४ देशमध्ये ४१ देशको तथ्याङ्क भरपर्दो नरहेको बताइएको छ।
विश्व स्वास्थ्य सङ्गठनलाई सहयोग गरेका वासिङ्टनस्थित सिएटल विश्वविद्यालयका तथ्याङ्कशास्त्री प्राध्यापक जोन वेकफिल्डले बीबीसीसँग भने-“राम्रो तथ्याङ्क सङ्कलन प्रणाली हामीलाई जरुरी भइसकेको छ।”बीबीसी