विश्व फुटबल महासंघ (फिफा) द्वारा प्रतिबन्धित एन्फा का पूर्व अध्यक्ष गणेश थापालाई फुटबलको कुनैपनि गतिविधिमा सामेल नहुन चेतावनी

Breaking News खेलकुद समाचार
शेयर गर्नु होला

काठमाडौं – विश्व फुटबल महासंघ (फिफा) ले प्रतिबन्धित अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापालाई फुटबलको कुनैपनि गतिविधिमा सामेल नहुन चेतावनी दिएको छ । फिफाले मंगलबार एन्फालाई पत्र पठाउँदै अझै फुटबलमा प्रतिबन्धमा रहेको कारण थापालाई फुटबल गतिविधिमा सामेल नहुन चेतावनी दिएको हो ।

फिफाले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई लेखेको पत्रमा फिफाका प्रमुख सदस्य संघ अधिकृत केनी जीन मारी र एसियाली फुटबल महासंघ (एएफसी) का उपमहासचिव भाहिद कार्दनीले पूर्व अध्यक्ष थापामाथि लगाइएको प्रतिबन्धबारे पुनः स्मरण गराएको छ । पत्रमा थापाले फिफाको निर्णय उल्लंघन गरेमा थप कारबाहीका लागि फिफाको अनुशासन समितिमा रिपोर्ट गर्न पत्र मार्फत एन्फालाई आग्रह समेत गरेको छ ।

एन्फा अध्यक्षको रुपमा रहँदा थापाले पदीय दुरुपयोग गरी भ्रष्ट्राचार गरेको भन्दै फिफाले थापालाई २०७२ साल कार्तिकमा १० बर्ष फुटबलबाट प्रतिबन्धसहित २० हजार स्वीस फ्रयांक (करिव २१ लाख रुपियाँ) जरिवाना गरेको थियो । तर थापाले एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले आफुमाथि झुटो आरोप लगाएको भन्दै विभिन्न माध्यामबाट विरोध गर्दै आउनु भएको थियो ।

एन्फाको केन्द्रीय निर्वाचन आउनै लाग्दा थापाले फुटबलमा फेरि चलखेल र अनावश्यक सक्रियता देखाउन थालेपछि फिफाले सचेत गराएको हो । एन्फाको केन्द्रीय निर्वाचन असार ६ गतेका लागि तय भएको छ । एक साता अघिमात्र थापाले पत्रकार सम्मेलनगरी एन्फा अध्यक्ष शेर्पाविरुद्ध आफुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिनुभएको थियो ।

डेढ घण्टा शेर्पाको कटाक्ष गर्नुभएका थापाले चुनावसँग भने आफ्नो कुनै सरोकार नरहेको बताउनुभएको थियो। थापाले शेर्पालाई अब माफी नदिने भन्दै न्यायका लागि आफु न्यायालय जाने पनि बताउनुभएको थियो । साभार: गोरखापत्र


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *