काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह) अहिले को अवस्था सम्म अन्य उम्मेदबार भन्दा अघाढीनै रहिरहदा वहाका समर्थकहरु ले बालेनको जित सुनिश्चित भएको बताउछन । सोही जितको सुनिश्चित भएसँगै बालेनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउने बताएका छन् ।
जित–हारलाई मतगणना सकिएसँगै बिर्सिन र विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगर्न उनले आग्रह पनि गरेका छन् । बालेनको अग्रताभन्दा गन्न बाँकी रहेको मत कम भएपछि उनको जित सुनिश्चि भएको हो ।
निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार बालेनले ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् ।
बालेन र निकटतम प्रतिस्पर्धी सिर्जनाबीचको मतान्तर २० हजार ३७६ रहेको छ । काठमाडौं महानगरमा अब गणना गर्न बाँकी रहेको मत मात्र १९ हजार ३२३ रहेको छ । मतगणना गर्न बाँकी रहेको मतमध्ये एक मत पनि बालेनको पक्षमा नआए पनि उनले जित्नेछन् ।
आफ्नो जित सुनिश्चित भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले विजयी जुलुस ननिकाल्ने र घोषणापत्रमा समेटिएको विषय लागु गरेको दिन सबै मिलेर विजय उत्सव मनाउने बताएका हुन् ।
बालेनले फेसबुकमा लेखेका छन् :
अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ । हरेक टोलटोल र गाउँगाउँमा ’बालेन’हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् । अबको हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडि बढौँ ।