अमेरिकी सेनाको प्यासिफिक कमान्डिङ जेनरल चार्ल्स ए फ्लिन नयाँदिल्लीको भ्रमण सकेर आज बिहीवार काठमांडौ आइपुगे

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमांडौ- अमेरिकी सेनाको प्यासिफिक कमान्डिङ जेनरल चार्ल्स ए फ्लिन नयाँदिल्लीको भ्रमण सकेर आज बिहीवार काठमांडौ आइपुगेका छन।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार जेनरल फ्लिन सद्भावना भ्रमणमा आउन लागेका हुन्।

एशिया प्रशान्त क्षेत्र हेर्ने अमेरिकी सेनाको इन्डो-प्यासिफिक कमान्डका उच्च अधिकारी रहेका उनको भ्रमणको मूल उद्देश्य दुई सेनाबीचको सम्बन्ध थप सुदृढ गर्ने रहेको सैनिक अधिकारीहरू बताउँछन्।

यो भ्रमणलाई नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवको अवसर पारेर दुवै देशबाट भइरहेका उच्चस्तरीय भ्रमणहरूको निरन्तरताका रूपमा हेरिएको छ।

नेपाली सेनाका प्रवक्ता सिलवालका अनुसार फ्लिनले शुक्रवार जङ्गी अड्डाको भ्रमण गरी महत्त्वपूर्ण भेटवार्ताहरू गर्ने छन्।

त्यस क्रममा सैनिक मुख्यालय भद्रकालीमा उनलाई गार्ड अफ अनर अर्थात् सम्मान गारद दिने कार्यक्रम छ।

प्रधानसेनापति शर्मासँगको भेटपछि उनलाई नेपाली सेनाको अप्रेशनसम्बन्धी कार्यक्रमहरूबारे ब्रीफिङ गरिने छ।

शनिवार बिहान जेनरल फ्लिन सगरमाथा आधारशिविरको भ्रमणमा जाने कार्यक्रम छ।

आइतवार बिहानै उनले पाँचखालस्थित नेपाली सेनाको शान्ति सैनिक तालिम केन्द्रको भ्रमण गर्ने छन्।

त्यहाँबाट फर्केर उनी काठमाण्डूको शिवपुरीमा रहेको नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेज पुग्ने र सम्भवतः शिक्षार्थीहरूलाई सम्बोधन गर्ने बताइएको छ।

चार दिन नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासहित विभिन्न उच्च अधिकारीलाई भेट्ने जनाइएको छ।

प्रधानसेनापति शर्माले आगामी असारको १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको औपचारिक भ्रमण गर्न लागेको जानकारी सैनिक मुख्यालयले यसअघि नै दिइसकेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *