सिङ्गापुर – चीनले ताइवानलाई आफ्नो देशबाट छुट्ट्याउने प्रयत्नविरुद्ध सैन्य शक्ति प्रयोग गर्ने चेतावनी संयुक्त राज्य अमेरिकालाई दिएको छ।
चीनका रक्षामन्त्री वे फङ्खले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग एशियाली सुरक्षा सम्मेलनको अवसर पारेर सिङ्गापुरमा भेटेका थिए।
सो अवसरमा कुराकानी गर्दै ताइवानलाई चीनबाट छुट्ट्याइए चिनियाँ सेनासँग लड्नुबाहेक अरू विकल्प नहुने र त्यसले युद्ध निम्त्याउने धारणा वेले व्यक्त गरे।
पछि अस्टिनले चिनियाँ सैनिक गतिविधिलाई “उत्तेजनापूर्ण र अस्थिरता निम्त्याउने” कदमको सङ्ज्ञा दिए।
उक्त प्रायःद्वीपमाथि दिनहुँजसो ठूलो सङ्ख्यामा चिनियाँ वायुयानहरू उडिरहेका र त्यसले “उक्त क्षेत्रमा शान्ति र स्थिरतालाई अवमूल्यन गरिरहेको” उनको भनाइ थियो।
चीनले स्वशासित ताइवानलाई आफ्नो भूमिको अभिन्न अङ्ग मान्ने गर्छ।
उक्त अवधारणाकै कारण रक्षामन्त्री वेले ताइवानलाई हतियार विक्री गर्ने अमेरिकी कदमको निन्दा गरेका थिए।
उनलाई उद्धृत गर्दै एक प्रवक्ताले भनेका छन्, “यदि कसैले ताइवानलाई चीनबाट अलग गर्ने प्रयास गर्छ भने चिनियाँ जनमुक्ति सेनासमक्ष कुनै पनि मूल्यमा लड्नु र ‘स्वतन्त्र’ हुने ताइवानको प्रयासलाई दमन गर्नु र देशको राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्नुको अरू विकल्प हुँदैन।”
रक्षामन्त्री अस्टिनले बेइजिङलाई चीनको सम्पूर्ण सरकारको मान्यता दिने र ताइवानी स्वतन्त्रताको विपक्षमा उभिने यथास्थितिको नीतिलाई स्वीकार गर्न अमेरिका प्रतिबद्ध रहेको बताएका थिए।
उनले बल प्रयोग गरेर तनाव हल गर्न खोज्नु नहुनेमा जोड दिएका थिए।
अमेरिकी र चिनियाँ रक्षामन्त्रीहरूको यो भेटवार्ता झन्डै एक घण्टा चलेको थियो।
दुवै पक्षले हार्दिकतापूर्ण छलफल भएको बताएका छन्।
अस्टिनले कुनै पनि असमझदारी उत्पन्न हुन नदिन चीनको सेनासँग पूर्ण रूपमा सञ्चारको संयन्त्र खुला राख्नुपर्नेमा जोड दिएका थिए।
मेको अन्त्यमा ताइवानले आफ्नो हवाई सुरक्षा क्षेत्रमा चीनले पठाएका ३० वटा लडाकु विमानलाई चेतावनी दिन आफूले पनि युद्धक विमानहरू परिचालन गरेको बताएका थियो।
त्यो चिनियाँ सेनाले ज्यानुअरी यता गरेको सबैभन्दा ठूलो अतिक्रमण थियो।
उक्त घटनामा २२ वटा ताइवानी लडाकु विमान र विद्युतीय युद्धप्रणाली र पूर्वचेतावनी प्रणाली तथा पनडुब्बीमा मार हान्न सक्ने विमान खटाइएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ।बीबीसी