काठमांडौ – नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउनका लागि द्विपक्षीय सम्झौताको एउटा “मस्यौदा”लाई अघि बढाउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको अधिकारीहरूले बताएका छन्।
गत मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौतालाई अघि बढाउन स्वीकृति दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका हुन्।
बिहीवार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त जानकारी दिए।
उक्त मस्यौदामा नेपाल तथा यूके सरकार-सरकारबीच (जीटूजी) सम्झौताको प्रस्ताव गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
उनीहरूका अनुसार यूकेमा नर्सहरू पठाउने कार्यमा कुनै पनि निजी कम्पनीलाई संलग्न नगर्ने प्रस्ताव उक्त मस्यौदामा गरिएको छ।
यद्यपि सबै प्रक्रिया पूरा गरेर यूकेमा रोजगारीका लागि नेपाली नर्सहरू जान पाउने समय आउन “अझै धेरै कामहरू” गर्न बाँकी रहेको अधिकारीहरूको भनाइ छ।
सरकारले नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउने योजना अघि बढिरहेका बेला कतिपय जानकारहरूले चाहिँ ठूलो मात्रामा दक्ष जनशक्ति विदेश पठाउँदा त्यसले देशलाई घाटा पुग्ने बताएका छन्।बीबीसी