अमेरिकाको सर्वोच्च अदालत द्वारा गर्भपतन सम्बन्धीको ५० वर्ष पुरानो फैसला खारेज

अमेरिकाको सर्वोच्च अदालत द्वारा गर्भपतन सम्बन्धीको ५० वर्ष पुरानो फैसला खारेज [भिडिओ]

Breaking News अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

न्युवोर्क – अमेरिकाको सर्वोच्च अदालतले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याउँदै गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको छ।

यससँगै अब अमेरिकामा दशौँ लाख महिलाले गर्भपतन सम्बन्धी कानुनी अधिकार गुमाउनेछन्। यस आदेशले अब राज्यहरूलाई गर्भपतनलाई गैरकानुनी मान्ने वा त्यसलाई अनुमति दिने विकल्प दिएको छ।

यो निर्णय सन् १९७३ मा वैध बनाइएको गर्भपतनसम्बन्धी अधिकारको विरोध गर्दै आएका त्यहाँका दक्षिणपन्थी तथा धार्मिक अभियानकर्मीहरूको निम्ति विजयको खबर हो।

परम्परावादी न्यायाधीशहरूको बहुमत रहेको सर्वोच्च अदालतमा उक्त निर्णयको पक्षमा ६ र विपक्षमा ३ न्यायाधीश थिए।

रो विरुद्ध वेड भनेर परिचित मुद्दामा गर्भपतनलाई संवैधानिक अधिकारको मान्यता दिएको विगतको फैसला अवैध भएको सर्वोच्च अदालतको निर्णयमा उल्लेख छ।

अमेरिकी संविधानले गर्भपतनसम्बन्धी अधिकार स्पष्ट उल्लेख गरेको छैन। अघिल्ला राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका मनोनयनपश्चात् अहिले अमेरिकाको सर्वोच्च अदालतमा परम्परावादी न्यायाधीशहरूको बहुमत छ।

तर अमेरिकामा मत सर्वेक्षणहरूले अधिकांश अमेरिकी महिलाहरू गर्भपतनको अधिकारको पक्षमा रहेको देखाएका छन्।

यस आदेशले अमेरिकामा गर्भपतन अधिकारलाई परिवर्तन गर्नेछ जहाँ हरेक राज्यले त्यसलाई प्रतिबन्ध लगाउन सक्नेछन्।

आधाजसो अमेरिकी राज्यहरूले नयाँ अवरोध वा प्रतिबन्धहरू लगाउन सक्ने अपेक्षा गरिएको छ।

१३ राज्यले ‘ट्रिगर ल’ भनिने केही कानुनी व्यवस्था तयार गरेर पारित गरिसकेका छन् जसले सर्वोच्चको यस आदेशसँगै अब स्वत: गर्भपतनलाई गैरकानुनी ठहर्‍याउनेछन्।

यस्तो आदेश, अदालतले गर्भपतन अधिकारसम्बन्धी राष्ट्रव्यापी कानुन उल्ट्याइदिन सक्ने विवरण भएको एउटा मस्यौदा दस्ताबेज चुहिएको केही सातापछि आएको हो।बीबीसी

Video Source : BBC News YouTube Channel


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *