टेक्सस – अमेरिकाको टेक्सस राज्यमा बेवारिसे अवस्थामा रहेको एउटा लरीमा कम्तीमा ५० जनाको शव फेला परेको घटनालाई मेक्सिकोका राष्ट्रपतिले “गरिबीको दुष्चक्रबाट निस्कने तीव्र चाहना”को परिणाम भनेका छन्।
ह्वाइट हाउसले उक्त घटनालाई “भयानक र हृदयविदारक” भनेको छ।
मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज् अब्राडोरले उक्त घटना “तस्करी र त्यसको नियन्त्रणको कमीका कारण” भएको बताएका छन्।
टेक्सस राज्यस्थित सान एन्टोनियोको बाह्य भेगमा बेवारिसे अवस्थामा भेटिएको एउटा लरीमा ती शवहरू भेटिएका थिए।
अमेरिका हुने मानव तस्करीसँग जोडिएको अनुमान गरिएको यो पछिल्लो सबैभन्दा खराब घटना भएको ठानिएको छ।
शव भेटिएकामध्ये २२ जना मेक्सिकोका नागरिक भएको पुष्टि गरिएसँगै राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो।
मृत्यु हुनेमा सातजना ग्वाटेमाला र दुईजना होन्डुरसका नागरिक भएको पुष्टि भएको छ।
थप पीडितहरू कुन देशका थिए भनेर पत्ता लगाउने काम भइरहेको अधिकारीहरूले बताएका छन्।
आफ्नो दैनिक पत्रकार सम्मेलनमा बोल्दै अब्राडोरले उक्त घटनालाई “अत्यन्त दु:खद” भनेका छन्।बीबीसी
Video Source : BBC News