श्रीलङ्काका राष्ट्रपति द्वारा आफ्नो देशमा इन्धन आयात गर्न सघाइदिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन समक्ष गुहार

Breaking News अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

कोलम्बो – श्रीलङ्काका राष्ट्रपतिले आफ्नो देशमा इन्धन आयात गर्न सघाइदिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफूले अनुरोध गरेको बताएका छन्।

चरम आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा महँगी बढेको छ भने इन्धन र अन्य सामग्रीको अभाव उत्पन्न भएको छ।

गोटाबय राजपक्षले पुटिनसँग “निकै फलदायी” छलफल भएको बताएका छन्।

श्रीलङ्काका ऊर्जामन्त्रीले देशमा रहेको पेट्रोलको मौज्दात चाँडै सकिने बताएको केही दिनपछि राष्ट्रपति राजपक्षले रुससँग गुहार मागेका हुन्।

बुधवार श्रीलङ्काको राजधानी कोलम्बोमा देशको खराब आर्थिक अवस्थाका कारण आक्रोशित हजारौँ मानिसले सरकारविरुद्ध प्रदर्शन गरेका थिए।

वार्ताका क्रममा श्रीलङ्कालाई इन्धन आयात गर्न सघाउ पुग्नेगरी ‘अफर अफ क्रेडिट’ [उधारो लिन योग्य छ भनेर खुलाइएको पत्र] दिन आफूले अनुरोध गरेको राजपक्षले बताए।

उनले मस्को र रुसबीच फेरि उडान सञ्चालन गर्न अनुरोध पनि गरेको जनाएका छन्। गत साता रुसी ध्वजावाहक एरोफ्लोटले आफ्ना उडान निलम्बन गरेको थियो।

“हाम्रा देशबीच विद्यमान मित्रतालाई सबल बनाउन पर्यटन, व्यापार र संस्कृतिजस्ता क्षेत्रमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउनुपर्नेमा हामी एकमत भयौँ,” राजपक्षले ट्विटरमा लेखेका छन्।

इन्धन आपूर्तिमा समस्या उत्पन्न भएपछि श्रीलङ्काले केही महिनादेखि रुससँग तेल किनिसकेको छ।

सरकारले रुससँग थप पेट्रोलियम पदार्थ किन्न आफू इच्छुक भएको सङ्केत दिएको छ।बीबीसी


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *