भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित, देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनिन

Breaking News अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

नया दिल्ली – भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति चुनिएकी छन्। योसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी छन्।

चौसट्ठी वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो। उनी सन्थाल समुदायकी हुन्।

राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो। त्यसको बिहीवार साँझसम्म सार्वजनिक गरिएको तेस्रो चरणसम्मको नतिजा अनुसार उनी राष्ट्रपति चयन भएकीछिन।

पचास प्रतिशतभन्दा बढी मत ल्याएपछि राष्ट्रपति बन्ने निश्चित हुन्छ। बिहीवार साँझसम्मको मतगणनामा उनले जित सुनिश्चित हुने मत पाइसकेकी छन्। उनले आगामी सोमवार पद तथा गोपनीयताको शपथ लिने बताइएको छ।

राष्ट्रपति चयन प्रक्रियामा सङ्घीय संसद्का दुवै सदन र राज्य तथा केन्द्रप्रशासित भूभागका व्यवस्थापिका संसद्का सदस्यहरूले मतदान गरेका थिए।

उनलाई सत्तारूढ भारतीय जनता पार्टी भाजपाले उम्मेदवार बनाएको थियो। मुर्मू यसअघि उनी झारखण्डकी राज्यपाल थिइन्।

मुर्मू रामनाथ कोविन्दको उत्तराधिकारी हुनेछिन्। कोविन्दको कार्यकाल जुलाई २४ मा सकिन लागेको छ।

उनी भारतको राष्ट्राध्यक्ष बन्ने दोस्री महिला हुन्। सन् २००७ जुलाईदेखि २०१२ सम्म राष्ट्रपति बनेकी प्रतिभा पाटिल भारतकी प्रथम महिला राष्ट्रपति हुन्।

भारतमा राष्ट्रपति राष्ट्राध्यक्ष भए पनि उनीसँग कार्यकारी शक्ति हुँदैन। राष्ट्रप्रमुख चयनको प्रतिस्पर्धामा मुर्मूले विपक्षी उम्मेदवारका रूपमा रहेका अनुभवी नेता यशवन्त सिन्हालाई पराजित गरेकी हुन्। सिन्हाले मुर्मूलाई जितका लागि बधाई दिएका छन्।

सिन्हा पहिला भाजपामै थिए। सन् १९९० को दशकमा सन् २००० को दशकको सुरुतिर प्रधानमन्त्री अटलबिहारी वाजपेयीको नेतृत्वमा रहेको भाजपा सरकारमा सिन्हा वरिष्ठ मन्त्री थिए। अहिले भाजपा र मोदीका प्रखर आलोचकका रूपमा सिन्हा चिनिन्छन्।

गत राष्ट्रपतीय निर्वाचनअघि उनलाई उम्मेदवार बनाउनेबारे भाजपाले विचार गरिरहेको हल्ला चलेपछि मुर्मू सन् २०१७ मा चर्चामा आइन्। त्यस बेला उनी झारखण्ड राज्यको गभर्नरका रूपमा कार्यरत थिइन्।

उनको जन्म १९५८ को जुन २० मा उडिसाको मयूरभञ्ज जिल्लाको बैदापोसी गाउँमा भएको हो। उक्त समुदाय भारतको सबैभन्दा पुरानो र ठूलो आदिवासी समूहमा पर्छ। भारतका विभिन्न राज्यमा बाहेक बाङ्ग्लादेशको उत्तरी भेग र पूर्वी नेपालको तराईमा सन्थाल समुदायको बसोबास छ। मुर्मूका बुवा ग्राम परिषद्का प्रमुख थिए। उनले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन गरिन्।

उडिसा सरकारको सामान्य कर्मचारीका रूपमा काम थालेकी उनी सन् १९७९-१९८३ मा सिँचाइ तथा ऊर्जा विभागमा कनिष्ठ सहायक थिइन्। उनले सन् १९९४ देखि १९९७ सम्म रायरङ्गपुरस्थित अरबिन्दो इन्ट्रिगल एजूकेशन एन्ड रिसर्च सेन्टरमा अध्यापन पनि गरिन्।

द्रौपदी मुर्मूको राजनीतिक जीवन सन् १९९७ मा सुरु भएको हो। त्यतिबेला उनी स्थानीय परिषद् सदस्य चुनिएकी थिइन्। भाजपाबाट उनी राज्यसभामा सन् २००० र सन् २००९ मा गरेर दुई पटक रायरङ्गपुरबाट निर्वाचित भइन्।

सन् २००० देखि २००४ सम्म उडिसा राज्यको गठबन्धन सरकारमा उनी मन्त्री थिइन्। बिजु जनता दलका नवीन पटनायकले राज्य सरकारको नेतृत्व गरेका थिए। भाजपाले राष्ट्रपति पदको उम्मेदवारका रूपमा नाम घोषणा गरेपछि मुर्मूले आफू अचम्भीत भएको बताएकी थिइन्

सुरुमा वाणिज्य तथा यातायातमन्त्री भएकी उनलाई पछि मत्स्य तथा पशु मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

सन् २००६ देखि सन् २००९ सम्म उनी उडिसामा भाजपाको अनुसूचित जनजाति मोर्चाकी अध्यक्ष थिइन्। भारतको संविधानले आदिवासी समुदायलाई सामाजिक र आर्थिक अवसर नपाएको समुदाय मान्छ।

सन् २०१५ मा उनले सक्रिय राजनीति त्यागिन् र छिमेकी राज्य झारखण्डको पहिलो महिला राज्यपालका रूपमा नियुक्त भइन्।

उनी राज्यपाल हुने उडिसाकै पहिलो आदिवासी नेता हुन्। राज्यपाल बनेर उनी सन् २०२१ को जुलाईसम्म छ वर्ष काम गरिन्।बीबीसी


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *