किन्सासा – संयुक्त राष्ट्रसङ्घले डीआर कङ्गोमा चर्किएको द्वन्द्वका कारण तीन शान्ति सैनिकले ज्यान गुमाएका र अन्य केही घाइते भएको पुष्टि गरेको छ। नेपाली सेनाले त्यहाँ परिचालित नेपाली सैनिकहरू सुरक्षित रहेको जनाएको छ।
नेपाली सेनाका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै द्वन्द्व चर्किएको क्षेत्रमा नेपाली शान्ति सैनिकहरूको ठूलो टोली नरहेको र त्यहाँ खटिएका स्टाफ अधिकृतहरूलाई सुरक्षित स्थानमा लगिएको बताएका छन्।
डीआर कङ्गोको पूर्वी सहर बुटेम्बोमा अवस्थित राष्ट्रसङ्घीय टोलीका दुई शिविरमा भएका झडपमा तीन शान्ति सैनिक र एक दर्जन प्रदर्शनकारी मारिएको विवरण आएका छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले शान्ति सैनिकमाथि गरिएको आक्रमण युद्ध अपराध हुन सक्ने भन्दै डीआर कङ्गोको सरकारलाई उक्त घटनाको अनुसन्धान गर्न ध्यानाकर्षण गराएका छन्।
ज्यान गुमाएका शान्ति सैनिकमध्ये दुई जना भारतीय सीमा सुरक्षा बलका सदस्य रहेको उल्लेख गर्दै भारतका विदेशमन्त्री एस जयशङ्करले उनीहरूको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेका छन्।बीबीसी