खोटाङको साकेला गाउँपालिका ६ म्याग्निच्युड भूकम्पको केन्द्रविन्दु, नेपाली सेना, प्रहरी र विपद व्यवस्थापनको टोली तयारी अवस्थामा

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौँ – आज बिहान ८ बजेर १३ मिनेटमा साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर गएको ६ म्याग्निच्युडको भूकम्प पस्चात उक्त भूकम्पबाट भएको क्षति र गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्रालयले जानकारी लिएको छ । साथै सम्भावित उद्धारका लागि नेपाली सेना, प्रहरी र विपद व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको जानकारी रहेको छ । साथै हालसम्म मानवीय क्षतिको कुनै बिबरण प्राप्त भइनसकेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिए।

गृहमन्त्रालयले खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, नेपाल प्रहरीका प्रदेश १ प्रमुख नायब महानिरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख नायब महानिरीक्षक कमल गिरीलाई टेलिफोन गरी भूकम्पको क्षति र गर्नुपर्ने उद्धारबारे जानकारी लिएको हो।

घाइतेको उद्धार र घर भत्किएर बस्न नहुने भएकालाई अन्यत्र सार्ने काम यथाशक्य छिटो गर्न र जिल्ला र प्रदेशको स्रोत साधनले नपुगेमा केन्द्रमा जानकारी गराउन गृहमन्त्रालयले प्रजिअ र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको छ ।

खोटाङका प्रमुख जिल्ला अधिकारी सेढाईका अनुसार मार्तिमबिर्ता आसपासलाई केन्द्र बनाएर भूकम्प गएको थियो । भूकम्पबाट साकेला गाँउपालिका–५ बृष्टि बस्ने विकास कटुवालको ढुङ्गा माटोको गारो भएको घर, डाडागाउँ बस्ने प्रकाश प्रधानको घरको छानामा रहेको टायल झरेको छ ।

यसैगरी, हलेसीतुवाचुङ नगरपालिका ९ सल्ले बस्ने धुर्ब पौडेलको ढुङ्गा माटोको गारो भएको घर सामान्य चर्केको र सोही नगरपालिका ७ का सयङखुका गंगा राईको घर चर्किएको खोटाङ प्रहरीले जनाएको छ । राई घर चर्किएर बस्न नसक्ने भएपछि आफ्नो भाइको घरमा बसेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म क्षतिको पूर्ण विवरण नआएको र क्षति पुगे नपुगेकोबारे बुझ्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना, प्रहरी र विपद व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको प्रजिअ सेढाईले बताउनुभयो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *