काठमांडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संसद्मा फिर्ता पठाएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पुन: बहुमतले “जस्ताको तस्तै” पारित भएको छ।
बिहीवार बसेको प्रतिनिधिसभाको बैठकले उक्त विधेयकलाई मत विभाजनका आधारमा बहुमतले पुन: पारित गरेको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उक्त विधेयक पारित गर्ने क्रममा मत विभाजनको माग राखेपछि मतदान प्रक्रियाबाट विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइएको थियो।
प्रतिनिधिसभा भएको मत विभाजनमा उक्त विधेयकको पक्षमा १३५ र विपक्षमा ६० मत परेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी दिए।
प्रतिनिधिसभामा बिहीवारको बैठकमा कुल १९५ सांसद् उपस्थित थिए।
राष्ट्रपति भण्डारीले झन्डै दुई सातासम्म विचाराधीन राखेर गत आइतवार उक्त विधेयकलाई प्रमाणीकरण नगरी सन्देशसहित संसद्मा फिर्ता पठाइदिएकी थिइन्।
त्यसअघि संसद्का दुवै सदनबाट नागरिकतासम्बन्धी विधेयक बहुमतले पारित भएको थियो।