काठमाडौँ – ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामुक्त गर्न विशेष अदालतले पुनः अस्वीकार गरेको छ । फौजदारी कार्यविधि संहिताको दफा ७८ बमोजिम थुनामुक्तको माग लिएर ढकालले पेस गरेको निवेदनलाई अदालतले अनुमति नदिएको हो ।
ढकालले उक्त व्यवस्था र आफू ज्येष्ठ नागरिकसमेत भएकाले थुनामुक्त पाउँ भनी भदौ ८ गते निवेदन दिनुभएको थियो । दफा ७८ मा अभियोग प्रमाणित हुँदा हुने अधिकतम कैदको सजायभन्दा बढी अवधि थुनामा राख्न नमिल्ने व्यवस्था छ ।
आइतबार न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारूको संयुक्त इजलासले ढकालको निवेदनमा अनुमति नहुने आदेश गरेको हो । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले ढकालको निवेदन अस्वीकार भएको बताउनुभयो ।
थुनाबाहिर रहन ढकालले गरेको यो तस्रो प्रयास हो । यसअघि विशेषले थुनामा राख्न आदेश दिएपछि ढकाल सर्वोच्च पुग्नुभएको थियो । सर्वोच्चमा राय बाझिएको थियो ।
ललिता निवास प्रकरणमा ढकालसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । २०७६ माघ २२ गते मुद्दा दायर भएको थियो । जसमा ६५ जनाविरुद्ध भने जग्गा फिर्ताको हकमा मात्र प्रतिवादी कायम गरिएको छ ।