चार्ल्स तृतीयलाई औपचारिक रुपमा बेलायतका नयाँ राजा घोषणा गरियो [ भिडिओ ]

Breaking News अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

लंडन, बेलायत

चार्ल्स तृतीयलाई लन्डनस्थित सेन्ट जेम्सेज प्यालेसमा आयोजित एक विशेष समारोहमा राजा घोषणा गरिएको छ।

शनिवार बिहान भएको परम्परागत कार्यक्रममा – जुन पहिलो पटक टेलिभिजनमा प्रसारण गरिएको थियो – दिवङ्गत महारानीको शोकमा झुकाइएको झण्डा नयाँ राजा बनेको खुसीयालीका अवसरमा पूर्ण रूपमा फहराइएको थियो।

यूकेभर आइतवारसम्म थप घोषणाहरू हुनेछन् त्यसपछि ८ सेप्टेम्बरमा दिवङ्गत भएकी महारानीको शोक मनाउने समयका कारण झण्डालाई फेरि आधा झुकाइनेछ।

एक्सेसन काउन्सिल भन्ने निकायले नयाँ राजाको औपचारिक घोषणा गरेको हो। अनि परम्परागत रूपमा विस्तृत समारोहसहित शपथ लिइएको थियो। यस्तो शपथ सात दशकयता पहिलो पटक आयोजना भएको हो।

चार्ल्स राजा बनिसकेका थिए- एक्ट अफ सेटलमेन्ट १७०१ को व्यवस्था अनुसार उनी उनकी आमाको मृत्यु पछि उनी स्वतः राजा बन्छन्।

त्यसैले एक्सेसन काउन्सिलको कार्यक्रमको उद्देश्य नयाँ राजाको नाम घोषणा गर्ने आलङ्कारिक जिम्मेवारी पूरा गर्नु थियो।

साधारणता यस्तो कार्यक्रम शासकको मृत्यु भएको २४ घण्टाभित्रै हुने गर्छ। तर यस पटक महारानी एलिजाबेथ द्वितीयाको मृत्यु र बकिङ्घम दरबार नजिकै रहेको सेन्ट जेम्सेज प्यालेसबीचको समारोह हुनमा केही समय लागेको छ।

त्यसैगरी राजा चार्ल्सले उनी राजा बन्ने औपचारिक समारोहलाई टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्न दिने निर्णय गरेर एक अर्को परम्परा तोडेका छन्।

प्राइभी काउन्सिल भनिने राजाका औपचारिक सल्लाहकारहरूको निकायमा २०० भन्दा बढी सदस्य छन् जसमा पूर्व र अहिलेका राजनेताहरू पर्छन्- उनीहरू र अन्य अधिकारीहरू सेन्ट जेम्सेज प्यालेसमा सहभागी भएका थिए।

काउन्सिल नोर्म्यान राजाहरूको समयदेखि अस्तित्वमा छ। यसका कुल ७०० सदस्यमध्ये २०० जना बोलाइएका थिए।

यूकेका पूर्व प्रधानमन्त्रीहरू गोर्डन ब्राउन, डेभिड क्यामरन, बोरिस जोनसन र टरिजा मे – जसले महारानीसँग कैयौँ वर्ष यता धेरै समारोहमा भेटेका थिए – सबै सहभागी थिए। त्यसैगरी लन्डनका मेयर, वरिष्ठ न्यायाधीशहरू र अन्य अधिकारीहरू पनि सहभागी थिए।

राजा चार्ल्सकी श्रीमती क्यामिला पार्कर बावल्स जो १७ वर्षदेखि चार्ल्सकी श्रीमती रहेकी छन् र हाल नयाँ उपाधि क्वीन कन्सोर्ट पाएकी छन् र राजाका छोरा विलियम जो नयाँ प्रिन्स अफ वेल्स हुन् पनि उपस्थित थिए।बीबीसी

Video Source : Daily Mail


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *