रुसी राष्ट्रपति भ्लादिमिर पुटिन द्वारा युक्रेनका चार क्षेत्र रुसमा गाभिएको घोषणा, साथै युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ताको टेबुलमा फर्किन आह्वान [भिडिओ]

Breaking News अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले सबै तरिकाबाट आफ्नो नयाँ भूभागको बचाउ गर्ने र ती नयाँ क्षेत्रहरूमा सुरक्षा बढाउने बताएका छन्।

कुलीन रुसी राजनीतिज्ञ र सेनासँगको भेलामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ताको टेबुलमा फर्किन आह्वान पनि गरेका छन्।

युक्रेनका थप चार क्षेत्रलाई गैरकानुनी रूपमा गाभ्ने मस्कोको एउटा बृहत् हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन्। ती गाभिएका क्षेत्रमा बस्ने मानिसहरूले नै त्यस्तो छनोट गरेको उनले दाबी पनि गरे। तर ती क्षेत्रमा गरिएका जनमतसङ्ग्रह भने देखावटी भन्दै निन्दा भएको छ।

संयुक्त राष्ट्रसङ्घ, युक्रेन र उसका साझेदारहरूले ती जनमतसङ्ग्रहलाई गैरकानुनी भन्दै आलोचना गर्दै आएका छन्। राष्ट्रसङ्घले त्यसरी अर्को देशको भूमि आफूमा गाभ्नुले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने जनाएको थियो।

गाभिन लागेका क्षेत्रहरू रुस नियन्त्रित डोनेट्स्क, लुह्यान्सेक, खेअरसन र ज्यापोरिज्या हुन्। रुसले ती क्षेत्रमा नियुक्त गरेका नेताहरूले औपचारिक पत्रमा हस्ताक्षर गरेका छन्।

राष्ट्रपति पुटिनले पनि त्यसमा हस्ताक्षर गरेका छन्।ती क्षेत्रका प्रतिनिधिहरूबीच परिचय गराइँदा दर्शकहरूले तालि बजाएका थिए। ती क्षेत्रलाई रसियन फेडेरेशनमा समाहित गर्ने औपचारिक प्रक्रिया आउँदा केही दिनमा हुनेछन्। भाषणमा पुटिनले उग्रराष्ट्रवादी भएर र पश्चिमा विरोधी भएर भाषण दिएका थिए।

बिहीवार संयुक्त राष्ट्रसङ्घका महासचिवले रुसको युक्रेनका क्षेत्रहरू गाभ्ने रुसी योजनाको निन्दा गरेका थिए। यसैबीच, युरोपेली सङ्घअन्तर्गतका देशहरूले रुसको कदमको स्पष्ट रुपमा निन्दा गर्दै त्यसलाई अस्वीकार गर्ने बताएका छन्। युक्रेनी भूभागलाई आफूमा गाभ्ने रुसको कदमलाई उनीहरूले गैरकानुनी भनेका छन्।

एउटा संयुक्त विज्ञप्तिमा ती देशका नेताहरूले त्यसरी गाभिएको क्षेत्रको पहिचान कहिल्यै नगरिने बताएका हुन्। उनीहरूले रुसको त्यस्तो कार्यले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको बताएका छन्।

युक्रेनसँगको ऐक्यबद्धता पनि उनीहरूले दोहोर्‍याएका छन्। रुसको परमाणु धम्कीले आफूहरूको सङ्कल्प नडग्मगिने पनि उनीहरूले बताएका छन्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन डेर लायनले पुटिनको कदमले केही पनि परिवर्तन नगरेको बताइन्।

सन् २०१४ मा पनि रुसले युक्रेनको क्राइमियालाई यसैगरी गाभेको थियो। त्यतिबेलाको जनमतसङ्ग्रहको पनि आलोचना गरिएको थियो। यसअघि थुप्रै नागरिकहरू ज्यापोरिज्यास्थित रुसी हमलामा मारिएको र घाइते भएको भन्ने विवरण आएका थिए।

कियभले भने आफ्नो कब्जा गरिएका क्षेत्र फिर्ता गर्नका लागि सङ्घर्ष निरन्तर राख्ने जनाएको छ।बीबीसी

Video Source : CNN


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *