इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा कम्तीमा १७४ जनाले ज्यान गुमाए [भिडिओ]

Breaking News अन्तर्राष्ट्रिय खेलकुद समाचार
शेयर गर्नु होला

जाभा, इन्डोनेसिया – हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा कम्तीमा १७४ जनाको ज्यान गएको छ।

अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको एउटा खेलपछि भएको भागदौडमा करिब १८० जना घाइते भएका छन्।

खेल सकिएको सिट्ठी बजेपछि फुटबल समर्थकहरू मैदानमा प्रवेश गरिरहेका भिडिओ फुटेज इन्टरनेटमा सार्वजनिक भएका छन्।

प्रहरीले त्यसपछि अश्रुग्याँस प्रहार गरेको थियो। जसले गर्दा भागदौड मच्चियो र मानिसहरू निसासिन पुगेको पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले बताए।

ज्यान गुमाउने मध्ये दुई जना प्रहरी अधिकारी रहेको उनले जानकारी दिए।मृतकमध्ये ३४ जनाको रङ्गशाला भित्रै निधन भएको थियो।

“उनीहरू एउटै बाहिरिने विन्दुमा गए। त्यहाँ ठूलो भिड भयो र अक्सिजनको अभावले गर्दा सास फेर्न गाह्रो हुने अवस्था आयो,”अफिन्टाले बताए।

सामाजिक सञ्जालका भिडियोमा मृतकको शव भुइँमा रहेको देखिन्छ। इन्डोनेसियाका प्रमुख सुरक्षा मन्त्रीले ४० हजार मानिस अटाउने उक्त रङ्गशालामा क्षमताभन्दा बढी मानिसहरू रहेको बताएका छन्।

कारहरूमाथि आगो लगाइएको थियो। प्रहरी प्रमुख अफिन्टाका अनुसार समर्थकहरू अराजक हुँदै प्रहरी अधिकारीहरूलाई आक्रमण गर्न र कारहरूमा क्षति पुर्‍याएका थिए।

उनले भने, “हामी के भन्न चाहन्छौँ भने सबै जना त्यसरी अराजक भएका थिएनन्। मैदान प्रवेश गरेका करिब ३ हजार जनाले मात्रै त्यस्तो व्यवहार देखाएका थिए।” इन्डोनेसियाको फुटबल सङ्घले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

उक्त घटनाले ‘इन्डोनेसियाको फुटबलको छवि धूमिल बनाएको’ उसले बताएको छ। इन्डोनेसियाको प्रमुख लीग बीआरआई लीगा १ लाई एक हप्ताको लागि निलम्बन गरिएको छ।

इन्डोनेशियाको फुटबल एसोसिएशनले शनिवार राति विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दुख व्यक्त गरेको छ र सो विषयबारे अनुसन्धानका लागि एउटा टोली मलंग पठाएको उल्लेख गरेको छ।बीबीसी

Video Source : The Telegraph


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *